प्रधानमन्‍त्री ओलीले संसद्‌मा विश्‍वासको मत गुमाएः पक्षमा जम्मा ९३ मत

प्रधानमन्‍त्री केपी ओली संसद्‌बाट विश्‍वासको मत लिन असफल भएका छन् । विश्‍वासको मतका लागि ओलीले राखेको प्रस्तावउपर प्रतिधिनिसभाको सोमबारको बैठकमा भएको मतदानमा उनी विश्‍वास प्राप्त गर्न असफल भएका हुन् ।

प्रधानमन्‍त्री ओलीले विश्‍वासको मत नपाएको घोषणा सभामुख अग्‍नी सापकोटाले गरेका हुन् । विश्‍वास प्राप्त गर्न ओलीलाई १३६ मत आवश्यक थियो। तर ओलीले जम्मा ९३ मत पाएका छन् । उनको विपक्षमा १२४ मत परेको छ । त्यस्तै मत दिन्‍न भन्‍ने वा तटस्थमा १५ मत परेको छ । संसदमा जम्मा २३२ सांसद उपस्थित थिए ।

प्रतिपक्षमा रहेका कांग्रेस, माओवादी केन्द्र जसपालगायतले ओलीलाई विश्‍वासको मत दिएनन् । एमालेकै माधव नेपाल पक्षका सांसदहरू पनि संसदमा अनुपस्थित भएर विश्‍वासको मत लिने ओलीको कदमलाई अहयोग गरेका छन् ।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा चार रिक्त रहेकोले हाल २७१ सदस्य कामय छन् । यो अंकगणितअनुसार सरकारका लागि १ सय ३६ सांसदको समर्थन चाहिन्छ । अहिले संसदमा एमालेका १२१, कांग्रेसका ६१, माओवादी केन्द्रका ४८ र जसपाका ३४ ( २ निलम्बित ) छन्। तीनजना स्वतन्त्र हैसियतमा छन् ।

प्रधानमन्‍त्री ओलीले विश्‍वासको मत नपाएको जानकारी सभामुख अग्‍नी सापकोटाले राष्ट्रपति विद्या भण्डारीलाई दिनेछन् । संसद्‌बाट विश्‍वासको मत नपाएपछि ओलीले अब स्वत पदमुक्त हुनेछन् । उनलाई काम चलाउ प्रधानमन्‍त्री तोकेर राष्ट्रपतिले संसदभित्रबाटै बहुमतको सरकार बनाउन दलहरूलाई आव्हान गर्नेछिन् । कांग्रेस, माओवादी र जनता समाजवादी पार्टी मिलेर वैकल्पिक सरकार गृहकार्यमा लागेका छन् । बहुमतको आधारसहित आजै उनीहरूले राष्ट्रपतिकहाँ जाने तयारी छ ।

Back to top button