केपी शर्मा ओली पुनः प्रधानमन्त्रीमा नियुक्त

नेपालको प्रधानमन्त्रीमा पुनः केपी शर्मा ओली नै नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो दलको नेताका रुपमा नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीलाई बिहीबार राति प्रधानमन्त्री नियुक्त गरेकी छन् ।

ओली संविधानको धारा ७६ को उपधारा ३ बमोजिम अल्पमतको प्रधानमन्त्री नियुक्त भएका हुन् । यसअघि वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत नपाएपछि ओली पदमुक्त भएका थिए ।

राष्ट्रपति भण्डारीले वैशाख २७ गते राति नै संविधानको धारा ७६ को उपधारा २ बमोजिम तीन दिनको समय दिएर दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त प्रतिनिधि सभा सदस्यलाई प्रधानमन्त्रीका रुपमा दाबी पेस गर्न आह्वान गरेकी थिइन् । त्यो समयभित्र कसैको पनि दाबी पेस नभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

बहुमतीय सरकारका लागि कसैको दाबी पेस नभएपछि संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रतिनिधि सभामा सबभन्दा ठूलो दलको नेताका रुपमा राष्ट्रपतिले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Back to top button