संसद विघटनसम्बन्धी रिट हेर्ने संवैधानिक इजलास भंग

न्यायाधीशबीचमै विमति भएपति सर्वोच्च अदालतको संवैधानिक इजलास भंग भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रतिनिधिसभा विघटनसम्बन्धी रिटको सुनुवाइ गर्न केही दिनअघि इजलास गठन गरेका थिए । रिटको सुनुवाइका क्रममा कानुन व्यवसायीले दुई न्यायाधीशको सहभागिताप्रति चर्को असन्तुष्टि जनाएका थिए ।
तर, मंगलबार इजलासमा सहभागी न्यायाधीशले नै छुट्टाछुट्टै राय दिएका हुन्। कानुन व्यवसायीले चित्त नबुझाएका दुई न्यायाधीशले इजलास नछाड्ने राय दिए । अर्का दुई न्यायाधीशले भने त्यसप्रति फरक मत राख्दै इजलासमा नबस्ने घोषणा गरे ।

रिट निवेदक पक्षका कानुन व्यवसायीले न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठको संलग्नतालाई लिएर शुक्रबार र आइतबार प्रश्न गरेका थिए । त्यसपछि प्रधानन्यायाधीश राणा र कानुन व्यवसायीबीच सवाल–जवाफ चलेको थियो। अघिल्लो पटक भएको प्रतिनिधिसभा विघटनसम्बन्धी रिटको सुनुवाइका लागि गठित संवैधानिक इजलासमा पनि न्यायाधीश केसी रहेको भन्दै कानुन व्यवसायीले प्रश्न उठाएका थिए ।

न्यायाधीश श्रेष्ठ सम्मिलित इजलासले फागुन २३ मा एमाले र माओवादी केन्द्रलाई ब्युँत्याउँदै नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिने निर्णय दिएको थियो । त्यसैले प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा श्रेष्ठबाट निष्पक्ष सुनुवाइ हुनेमा कानुन व्यवसायीले आशंका गरेका हुन् ।
तर, न्यायाधीशद्वय केसी र श्रेष्ठले इजलासबाट बाहिर नजाने राय व्यक्त गरेका छन् । उनीहरूले यसअघि गरिएको मुद्दाको फैसला र अहिलेको मुद्दामा कुनै सम्बन्ध नभएकाले अहिलेको प्रतिनिधिसभा विघटनसम्बन्धी रिट हेर्न नमिल्ने कुनै कानुनी आधार नरहेकाले आफूहरूले इजलास नछाड्ने राय व्यक्त गरेका हुन् ।

अर्का न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले भने इजलासबाट बाहिरिने घोषणा गरेका छन् । न्यायाधीशद्वय केसी र श्रेष्ठले इजलासबाट नबाहिरिने निर्णय गरेपछि आफ्नो फरक मत राख्दै कार्की र भट्टराईले अहिलेको इजलासमा नबस्ने घोषणा गरेका हुन् ।

यससँगै ३० वटा रिटको सुनुवाइका लागि अर्को पेसी जेठ जेठ २३ गतेका लागि तोकिएको छ । प्रधानन्यायाधीश राणाले अब नयाँ इजलास तोक्नेछन् । सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले मंगलबार प्रधानन्यायाधीशसँग संवैधानिक इजलास गठनसम्बन्धी नियमावली संशोधन गरी वरिष्ठताका आधारमा इजलास गठन गर्ने सहमति भएको जानकारी दिए ।

मर्यादाक्रममा अघि रहेका न्यायाधीश कारणवश सहभागी हुन नसक्ने स्थिति भए जानकारी दिएर त्यसपछिका न्यायाधीश इजलासमा रहने सहमति भएको अध्यक्ष शाक्यको भनाइ छ ।
सर्वोच्चमा प्रधानन्यायाधीशपछि वरिष्ठताका आधारमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्म्भरप्रसाद श्रेष्ठ छन् । न्यायाधीश कार्की अघिल्लो पटक पहिलो प्रतिनिधिसभा विघटन हुँदा नै विवादमा परेका थिए। त्यसपछि कार्कीले इजलास छाडेका थिए । उनको उपस्थिति नरहने अवस्थामा न्यायाधीश श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा संवैधानिक इजलासमा रहनेछन् । तर, न्यायाधीश श्रेष्ठ अस्वस्थताका कारण इजलासमा नरहने सम्भावना रहेको सर्वोच्च स्रोतले जनाएको छ ।

Back to top button