वकिलले न्यायाधीश छान्ने कस्तो न्यायलय ?

प्रतिनिधि सभा विघटन मुद्दामा प्रारम्भिक सुनुवाइदेखि नै देखिएको विवाद संबैधानिक इजलास भंग सम्म पुगेको छ । मंगलबार न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलासमा नबस्ने घोषणा गरेसँगै अब संवैधानिक इजलास पुनर्गठन हुने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आउँदो २३ गतेका लागि मुद्दाको पेशी तोकेका छन् । त्यसअघि नै संवैधानिक इजलास पुनर्गठन हुनेछ । मंगलबार नै प्रधानन्यायाधीश राणा सर्वोच्च बारका प्रतिनिधिसँगको छलफलमा वरिष्ठताको आधारमा इजलास गठन गर्न सहमत भएका थिए ।

त्यसपछि बसेको बेञ्चमा न्यायाधीश कार्की र भट्टराईले इजलासका विषयमा प्रश्न उठेको भन्दै आफूहरू नबस्ने घोषणा गरे । कानुन व्यवसायीहरुले न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठका विषयमा प्रश्न उठाएका थि ए।

न्यायाधीशमाथिको प्रश्न सर्वोच्च बारको सल्लाह र संवैधानिक इजलासको रोष्टरमा रहेका १० न्यायाधीशको दबाबपछि निरुपणको बाटोमा अघि बढेको हो ।

प्रश्न उठेका न्यायाधीशद्वय केसी र श्रेष्ठले मंगलबारको इजलासमा अलग-अलग राय सार्वजनिक गरे । उनीहरूले फागुन २३ गते नेकपा नाम विवादमा संलग्न भएकै आधारमा मुद्दा हेर्न नमिल्ने जिकीरसँग सहमत हुन नसक्ने आफ्नो राय सार्वजनिक गरे । प्रतिनिधि सभा विघटन र ऋषि कट्टेलको मुद्दामा कुनै साइनो नभएको उनीहरूको जिकीर थियो ।
यी दुई न्यायाधीशले इजलासमै बस्ने राय आइतबार नै तयार गरेका थिए । आइतबार संवैधानिक इजलासमा रहेका न्यायाधीशहरू दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले हस्ताक्षर गर्न नसकिने बताएका थिए । सोमबार दिनभर सर्वोच्चमा हलचल भएको थियो । दुई न्यायाधीशले इजलासबाट नहट्ने संकेत गरेपछि संवैधानिक इजलासको रोष्टरमा रहेका १० न्यायाधीशले आपसमा सल्लाह गर्दै संवैधानिक इजलासको रोष्टरबाट हट्नेदेखि इजलास बहिस्कार गर्नेसम्म सल्लाह गरेका थिए ।

उनीहरूको उक्त कुरा चाल पाएपछि प्रधानन्यायाधीश राणाले सामूहिक छलफल पनि गरेका थिए । रोष्टरमा रहेका १० न्यायाधीशहरूले दुई न्यायाधीशलाई अलग हुने राय दिन सुझाएका थिए ।

मंगलबार करिब २ बजेपछि मात्र संवैधानिक इजलास सुरु भयो । संवैधानिक इजलास सुरु भएपछि प्रधानन्यायाधीश राणालाई दुई न्यायाधीशहरू केसी र श्रेष्ठले आफ्नो राय सुनाए भने कार्की र भट्टराईले अलग हुने राय सुनाए । दुवैको निर्णयपछि प्रधानन्यायाधीश राणाले अर्को पेशी फागुन २३ गते हुने र उक्त दिन नियमावली संशोधन गर्दै रोष्टरका आधारमा नयाँ पेशी तोकिने बताए ।

यसरी सर्वोच्च अदालतमा न्यायाधीशका विषयमा प्रश्न उठेको पहिलोपटक भने होइन । पुस ५ मा प्रतिनिधि सभा विघटनको मुद्दाको सुनुवाइ हुँदा पनि यस्तै प्रश्न उठेको थियो । प्रधानन्यायाधीश राणाकै समयमा यो दोस्रोपटक प्रश्न उठेको हो । यसअघि न्यायाधीश हरिकृष्ण कार्कीको विषयमा प्रश्न उठेको थियो ।

पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि दर्ता भएका रिटमाथि सुनुवाइका लागि पुस १० गते प्रधानन्यायाधीश राणाको नेतृत्वमा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहेको संवैधानिक इजलास गठन गरिएको थियो । बहस सुरु हुनु अगाडि नै इजलास गठनप्रति प्रश्न उठेपछि न्यायाधीश हरिकृष्ण कार्की बाहिरिएका थिए । कार्की बाहिरिएपछि न्यायाधीश सपना प्रधान मल्ल संवैधानिक इजलासमा आएकी थिइन् ।

Back to top button