ओसाकाको बहिर्गमनः फ्रेन्च ओपनबाट नाम फिर्ता

एजेन्सीः विश्व वरीयतामा दोस्रो स्थानमा रहेकी चार पटकको ग्रान्डस्लाम विजेता जापानी टेनिस स्टार नाओमी ओसाका र ग्रान्डस्लाम आयोजकबीचको एक साता लामो विवादले नयाँ मोड लिएको  छ ।

ओसाकाले मानसिक स्वास्थ्यको कारण देखाउँदै फ्रेन्च ओपनबाट नाम फिर्ता लिएकी छन् । ‘प्रतियोगिताको सफलता र अन्य खेलाडीको हितका लागि पनि फ्रेन्च ओपनबाट नाम फिर्ता लिने निर्णय गरेको छु’, ओसाकाले सामाजिक सञ्जाल इन्टाग्राममा लेखेकी छन्, ‘मेरो यो निर्णयपछि पेरिसमा सञ्चालन भइरहेको ग्रान्डस्लामप्रति सबैको ध्यान केन्द्रित हुनेछ। ’

सन् २०१८ मा अमेरिकी टेनिस स्टार सेरेना विलियम्सलाई पराजित गरेदेखि नै ओसाका मानसिक रोगको सिकार भएकी थिइन् । अमेरिकामा सञ्चालन भएको यूएस (अमेरिकी) ओपनमा सेरेनालाई पराजित गरेपछि आफू मानसिक रुपमा विचलित हुँदै आएको ओसाकाले बताएकी छन् । ‘म विचलित हुन चाहन्थें। तर, समय मेरो अनुकुल भएन’, उनले भनेकी छन्’, ‘सन् २०१८ को यूएस ओपनपछि नै मैले लामो समयसम्म डिप्रेसनको सामना गर्नुप¥यो र डिप्रेसनबाट निस्कन निकै मुस्किल भयो ।’

२३ वर्षीया ओसाकाले गत साता आफ्नो मानसिक स्वास्थ्यको कारण देखाउँदै पोस्ट् म्याच कन्फरेन्समा सहभागी नहुने बताएकी थिइन् । यसबारेमा पुनर्विचार गर्न ग्रान्डस्लाम आयोजकहरूले उनलाई आग्रह गरेका थिए । तर, आइतबार रोमानियाकी प्याट्रिसिया मारिया टिगलाइ पराजित गरेपछि ओसाकाले सञ्चार माध्यमसँग कुरा गर्न अस्वीकार गरिन् ।

पोस्ट् म्याच कन्फरेन्समा सहभागी नभएको भन्दै उनलाई आइतबार नै १५ हजार अमेरिकी डलर जरिवाना पनि गराइयो । चार वटा ग्रान्डस्लामका आयोजकले संयुक्त रुपमा वक्तव्य निकाल्दै ओसाकामाथि थप जरिवाना गरिनु पर्ने र भविष्यमा हुने प्रतियोगितामा सहभागी हुनबाट रोक्नुपर्नेसम्मका चेतावनी दिए । ‘ग्रान्डस्लामका नियमहरूमध्ये खेलाडीले मिडियासँग साक्षात्कार गर्नु पनि एक हो । यो खेलाडीको महत्वपूर्ण जिम्मेवारी पनि हो ’, आयोजकहरूले विज्ञप्तिमा भनेका छन्, ‘खेलको नतिजा जेसुकै भए पनि एक जिम्मेवार खेलाडीले आफूसँगै खेल र प्रशंसकप्रति पनि जिम्मेवार हुनु पर्दछ ।’

ओसाकाले आइतबार नै ट्वीट गर्दै मानिसहरूलाई परिवर्तनले असहज भएको प्रतिक्रिया दिएकी थिइन् । ‘असमझदारीले मानिसमा द्वेष पैदा गर्छ । किनभने कुनै पनि परिवर्तन मानिसका लागि असहज हुन्छ’, ओसाकाले ट्विटमा भनेकी छन् । ओसाकाले रोमानियाकी प्याट्रिसिया मारिया टिगलाई पराजित गर्दै फ्रेन्च ओपनमा सुखद् सुरुवात गरेकी थिइन् । दोस्रो चरणमा उनको भिडन्त रोमानियाकै अना बोग्दानसँग हुने तय भएको थियो ।

Back to top button