नेपाली फुटबल टोली कुवेतमाः बिहीबार ताइपेईसँग खेल्ने

नेपाली राष्ट्रिय फुटबल टोली कुवेत पुगेको छ । इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोली स्थलमार्ग हुँदै कुवेत पुगेको हो । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोटअन्तर्गत बाँकी खेलका लागि नेपाली टोली कुवेत पुगेको हो ।

नेपाली टोलीले बिहीबार विश्वकप छनोटअन्तर्गत चाइनिज ताइपेईसँग प्रतिस्पर्धा गर्दैछ । त्यसअघि नेपाली टोलीले कुवेतमै तयारी गर्नेछ ।  नेपालले घरेलु मैदानमा खेल्नुपर्ने विश्वकप छनोटका खेलहरू कोरोना महामारीका कारण कुवेतमा हुन लागेको हो । नेपालमा कोरोना महामारी बढेपछि एसियाली फुटबल महासंघ (एएफसी)ले सेन्ट्रल भेन्युका रूपमा कुवेतमा खेलाउन लागेको हो ।

विश्वकप छनोटअन्तर्गत एसियाली छनोटका नेपालले तीन खेल्न बाँकी छ । नेपालले अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेईसँग एक÷एक खेल खेल्न बाँकी छ । विश्वकप छनोटअन्तर्गत नेपालले आठ खेलमध्ये पाँच खेल खेलिसकेको छ । नेपालले यसअघिका खेलमा चाइनिज ताइपेईलाई मात्र २–० गोलले हराएको थियो । नेपाल आफ्नो पहिलो खेलमा कुवेतसँग ७–० र दोस्रो खेलमा १–० गोलले पराजित भएको थियो ।

नेपाल अस्ट्रेलियासँगको पहिलो खेलमा ५–० र जोर्डनसँग ३–० गोलले पराजित भएको थियो । अहिले समूहमा १२ अंकसहित अस्ट्रेलिया शीर्ष स्थानमा छ । कुवेत १० अंकसहित दोस्रो, १० नै अंक बनाएको जोर्डन तेस्रो, नेपाल तीन अंकसहित चौथो र अंक जोड्न नसकेको चाइनिज ताइपेई पुछारमा छ । नेपालले जुन ७ मा जोर्डन र जुन ११ मा बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियाको सामना गर्ने छ।

नेपाली टोलीका मुख्य प्रशिक्षक कुवेतका अब्दुल्लाह अलमुताइरीले टोलीमा व्यापक परिवर्तन गरी युवा खेलाडीलाई मौका दिएका छन् । उनले औसतमा २३ वर्षका खेलाडी लिएर कुवेत पुगेका छन् । उनले गत चैतमा थ्री नेसन्स कप जित्दाको टोलीका १३ खेलाडी परिवर्तन गरेका थिए । नेपाली टोलीको गोलरक्षकमा किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की छन् ।

यस्तै रक्षकमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास छन् । यसैगरी मिडफिल्डरमा विशाल राई, मनीष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनील बल, सुरज ठकुरी, पूजन उपरकोटी र आयुष घलानलाई छन् । स्ट्राइकरमा अभिषेक रिजाल, अञ्जन विष्ट, नवयुग श्रेष्ठ र आशिष लामा छन् ।

गोलरक्षक विशाल सुनार, दीप कार्की, मिडफिल्डर कमल थापा, सुरज ठकुरी र आयुष घलानले राष्ट्रिय टोलीबाट डेब्यु गर्न बाँकी छ । मिडफिल्डर मनीष डाँगी र रक्षक गौतम श्रेष्ठले भने शनिबार भएको इराकविरुद्धको खेलमा डेब्यु गरेका थिए । उक्त खेलमा मनीषले एक गोल पनि गरेका थिए । उनी डेब्यु खेलमै गोल गर्ने तेस्रो नेपाली खेलाडी बनेका छन् ।

यसअघि वाईबी घले र हरि खड्काले डेब्यु खेलमै गोल गरेका थिए । वाईबीले सन् १९८२ मा भारतको नयाँ दिल्लीमा भएको एसियन गेम्सअन्तर्गत कुवेतविरुद्धको खेलमा गोल गरेका थिए । हरि खड्काले सन् १९९५ मा श्रीलंकामा भएको सार्क विस्टोल गोल्डकपअन्तर्गत पाकिस्तानविरुद्ध डेब्यु खेलमै गोल गरेका थिए ।

शनिबार फिफा वरीयतामा निकै माथि रहेको इराकसँगको खेलमा नेपाल ६–२ गोलले पराजित भएको थियो । नेपालका मनीष डाँगीले एक गोल गरेका थिए भने अर्को गोल आतमघाती रूपमा इराकबाट उपहार पाएको थियो । फिफाको पछिल्लो वरीयतामा नेपाल एक सय ७१औं स्थानमा छ भने इराक ६८औं स्थानमा छ ।

Back to top button