सच्चा राष्ट्र सेवक ‘संजेल’को आज १३ औं पुन्यतिथि

भोजपुर जिल्ला साविक चरम्बी गा.वि.स. वडा नं ५ मा २०१२ साल असोज ६ गते पिता विष्णु प्रसाद संजेल र माता विष्णु कुमारी संजेलका जेष्ठ सन्तानको रुपमा जन्मिनु भएका नारायण प्रसाद संजेलको बाल्यकाल जन्मस्थानमा आमा-बुबाको साथमा रही उकाली-ओराली, घाँस-दाउरा, गाई-बाख्रा खेती किसानीको काम गर्दै प्राथमिक शिक्षा सोही स्थानमा हासिल गर्नुभयो ।

२०२३ सालमा माता पिता र भाइ बहिनीहरु सहित झापा जिल्लाको साविक तोपगाछी गा.वि.स वडा नं.४ मा बसाइ सरी महेन्द्र रत्‍न माध्यमिक विद्यालयबाट हाइ स्कूलको शिक्षा पुरा गर्नुभएको थियो । त्यसपछ्चात उँहा २०२९ सालमा आइ.एड गर्नको लागी धनकुटा बहुमुखी क्याम्पस धनकुटामा रहनुभयो र २०३१ सालमा काठमाडौंमा आई त्रिभुवन विश्वविद्यालयबाट भूगोल विषयमा स्नातकोत्तर र कानून विषयमा स्नातक (बि. एल.) गर्नुभयो ।

सरकारी सेवामा नारायण प्रसाद संजेलले लामो अनुभव रहेको थियो । २०४२ सालमा शाखा अधिकृतको रुपमा सेवा प्रवेश गर्नु भई नेपाल सरकारको विभिन्‍न सेवाहरुमा कार्यरत रहनु भयो । २०५३ सालमा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत सुर्खेतको क्षेत्रिय डाइरेक्टर, २०५४ र २०६५ सालमा गरी दुई पटक मुस्ताङ जिल्लाको प्रमुख जिल्ला अधिकारी, २०६३ सालमा उद्दोग विभागको निर्देशक, २०६५ सालमा अध्यागमन विभागको निर्देशक हुनुभयो ।

२०६५ सालमा सह-सचिव पदमा बढुवा भइ सामान्य प्रशासन मन्त्रालय, प्रधाममन्त्री तथा मन्त्री परिषदको कार्यलय, अध्यागमन विभागको महानिर्देशक, प्रहरी किताबखानाको महानिर्देशक र सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयमा रहि २०७० सालमा सरकारी सेवाबाट अवकाश प्राप्त गर्नु भयो । सेवामा कार्यरत रहँदा उँहा २०५९ सालमा प्रवल गोरखा दक्षिण बाहु र २०७० सालमा सुप्रवल जनसेवा श्री पदकबाट आभूशित पनि हुनु भएको थियो ।

सेवामा रहँदा र अवकाश पाए पश्चात पनि नारायण प्रसाद संजेल नेपाल सरकारको विभिन्न अनुसन्धानमुलक कमिटिहरुको नेतृत्व पदमा रहनु भएको थियो । सेवाको क्रममा उहाँले नेपालका प्राय जिल्लाहरु र बेल्जियम, चिन, फिनल्याण्ड, फ्रान्स, जर्मनी, नेदरल्याण्ड, भारत, पोर्चुगल, स्पेन, इथियोपिया, पाकिस्तान, माल्दिभ्स, बेलायत, संयुक्त राज्य अमेरिका, स्विजरल्याण्ड आदि देशको भ्रमण गर्नु भएको थियो ।

उहाँले २०४१ सालमा सुरु गर्नु भएको अध्यापन पेशालाई पनि सरकारी सेवासँगै निरन्तरता दिइनै रहनु भयो । ललितपुरको नमूना मच्छेन्द्र क्याम्पसमा नेपाल परिचय, नेपाली भाषा, अर्थशास्त्र तथा मानव संसाधन व्यवस्थापन विषयहरु उहाँले २०७३ सालसम्म पार्ट टाईम लेक्चररको रुपमा अध्यापन गराउनु भयो ।

उहाँले २०५६ सालमा मानवस्रोत व्यवस्थापन नामक नेपाली पुस्तक र २०६० सालमा Fundamentals of Human Resource Management नामक अंग्रेजी पुस्तक समेत प्रकाशन गर्नुभएको थियो । यस बाहेक उँहाका लेख तथा कृतीहरु विभिन्‍न जर्नलहरुमा प्रकाशित रहेका छन् ।

उहाँ नयाँ आवास सहयोग समाज बालकोट, झापाली मिलन केन्द्र, नेपाल रेडक्रस सोसाइटि-बालकोट शाखा, नागरिक सामुदायिक अस्पताल गठ्ठाघर, शहिद मेमोरियल अस्पताल कलंकी, तोपगाछी-धरमपुर सहयोग मञ्च, बालकोट मल्टिपर्पोज लगानी संस्था, बौद्धिक समाज बालकोट, नेपाल बुद्धिजिवी परिषद् भक्तपुर लगायतका संघ संस्थाहरुमा प्रतिनिधित्व र सल्लाहकारको रुपमा रहनु भएको थियो ।
उहाँ जिन्दगीमा कहिल्यै नहार्ने र नथाक्ने, माता-पिता, भाइ-बहिनीहरु र परिवारको यथोचित संरक्षण गर्ने, निडर, आत्मस्वाभिमानी, अन्यायमा कहिल्यै नझुक्ने, सत्य र निष्ठामा अडिग, पृय वचनका धनी र लगनशील व्यक्तित्व हुनुहुन्थ्यो। निजको पत्नी सुभद्रा संजेल, छोरा रमेश संजेल र छोरी अल्का शर्मा हुनुहुन्छ ।

मिलनसार स्वभावका नारायण प्रसाद संजेल साहित्य, र कला-संस्कृतीमाको विषयमा पनि निकै रुची राख्‍नु हुन्थ्यो । सामाजिक कार्यमा पनि उहाँको प्रभावकारी संलग्नता रहेको थियो । उहाँको निधनले परिवार आफन्त, समाज र राज्यलाई नै अपुरणिय क्षति पुगेको छ ।

Back to top button