इन्धनको मूल्य फेरि बढ्यो: पेट्रोल १२५ रुपैयाँ

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । शनिबार निगमले डिजेल, पेट्रोल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य बढाएको हो ।

निगमका प्रवक्ता विनितमणि उपध्यायका अनुसार डिजेल, पेट्रोल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटरमा दुई रुपैयाँले बढेको हो ।

मूल्य बढेसँगै पेट्रोल प्रतिलिटर १२५ पुगेको छ भने डिजेल र मट्टीटेल १०८ रुपैयाँ पुगेको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटरमा ८० रुपैयाँ पुगेको छ । यसअघि पेट्रोल १२३, डिजेल, मट्टीतेल १०६ र हवाई इन्धनको अन्तरिक तपर्फको मूल्य प्रतिलिटर ७८ रुपैयाँ थियो ।

निषेधाज्ञा सुरु भएपछि निगमतले दुई पटक इन्धनको मूल्य बढाएको हो । यसअघि जेठ २ गते इन्धनको मूल्य बढेको थियो ।

इन्डियन आयल कर्पोरेशन (आईओसी)ले पठाएको मूल्य सूची अनुसार मूल्य समायोजन भएको प्रवक्ता उपाध्यायको भनाइ छ । बढेको मूल्य शनिबार राति १२ बजेदेखि लागू हुनेछ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढिरहेको अवस्थामा आईओसीबाट प्राप्त मूल्य सूची अनुसार निगमले मूल्य समायोजन गरेको हो ।

पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार निषेधाज्ञाको समयमा विक्री परिणामलाई हिसाब गर्दा १५ दिनमा मात्रै निगमलाई करिब ७१ करोड घाटा हुने अवस्था रहेको प्रवक्ता उपाध्यायको भनाइ छ । अन्य सामान्य अवस्थाको हिसाब गर्दा निगमलाई ९३ करोड घाटा रहेको उनले बताए ।

निरन्तर बढिरहेको कच्चा तेलको मूल्य एवम् अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँको अवमूल्यन हुनेक्रम जारी रहँदा इन्धनको मूल्य अझ बढ्ने निगमले जनाएको छ ।

Back to top button