महतोको भनाइ प्रति सर्वत्र आलोजना: जनतासँग माफी माग्‍न चेतावनी

नव नियुक्त उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिप्रति विभिन्न १८ संघ/संगठनले आपत्ति जनाएका छन् । संविधान अनुसार शपथ लिएर संविधान विरोधी अभिव्यक्ति दिएको भन्दै मन्त्री  महतोको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।

महतोले बहुल राष्ट्रिय राज्यको स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलन तयारी गर्ने बताएकोप्रति १८ संघ/संगठनले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै आपत्ति जनाएका हुन् । उनीहरुले यो अभिव्यक्ति फिर्ता लिएर जनतासँग माफी माग्नु पर्ने जनाएका छन् ।

‘यो अभिव्यक्ति नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमान विरुद्ध रहेको हाम्रो छ । यो अभिव्यक्ति हाम्रो संबिधानको प्रस्तावना र संबिधानको धारा–३ विपरीत छ ।

संविधानको मर्म विपरित कुनै पनि काम नगर्ने शपथ खाएर संविधानको कार्यान्वयन गर्ने निकायमा पुगेको जिम्मेवार व्यक्तिबाट यस प्रकारको संविधान विरोधी र अराजक अभिव्यक्ति आउनु असाध्यै बिडम्बनापूर्ण छ’, विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ, संविधानको मुल मर्म विरुद्धमा आएको यस अभिव्यक्तिको घोर भत्र्सना गर्दै उपप्रधानमन्त्री महतोलाई तत्काल आफ्नो अभिव्यक्ति फिर्ता लिएर नेपाली जनतासँग माफी माग्न आग्रह गर्दछौं ।’

संयुक्त विज्ञप्तिमा अखिल नेपाल किसान महासंघका बलराम बाँस्कोटा, अखिल नेपाल महिला संघकी जयन्ती राई, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका सुदेश पराजुली, नेपाल उत्पीडित जातीय मुक्ति समाजका गणेश बि.क, युवा संघ, नेपालका नरेशकुमार शाही, नेपाल खेलकुद महासंघका पुरुषोत्तम पौडेल, नेपाल मुस्लिम इत्तेहाद संगठनका ताज मोहम्मद मिया, नेपाल टे«ड युनियन महासंघ (जिफन्ट)का विष्णु लम्सला, नेपाल भूमिहीन सुकुम्वासी संगठनका रामपृत पासवान छन् ।

त्यस्तै नेपाल उद्योग तथा व्यावसायी महासंघका लक्ष्मीदास मानन्धर, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका परशुमेघी गुरुङ, पेसागत महासंघ, नेपालका विश्वनाथ प्याकुरेल, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनका मिठाराम के.सी, प्रेस चौतारी नेपालका विश्वमणी सुवेदी, राष्ट्रिय जनसांस्कृतिक महासंघका कृपाराम धमला, मानव अधिकार एलायन्सकी उषा पोखरेल, लोकतान्त्रिक मधेसी संगठनका रामचन्द्र शाह र नेपाल इन्जिनियरिङ्ग पेशाकर्मी संघका नन्द बन्जाडेले हस्ताक्षर गरेका छन् ।

Back to top button