गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस नेता पोखरेलको दाबी

गण्डकीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले आफूलाई मुख्यमन्त्री नियुक्ति गर्न प्रदेश प्रमुखकहाँ दाबी पेस गरेका छन् ।

माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा तथा एकजना स्वतन्त्र सांसदको हस्ताक्षरसहित उनी प्रदेश प्रमुखकहाँ गएका हुन् ।

पोखरेलले जनमार्चाका २, जसपाका २, माओवादीका ११, कांग्रेसका १५ र एक स्वतन्त्रको समर्थन आफूलाई रहेको दाबीसहित मुख्यमन्त्रीमा आफूलाई नियुक्त गर्न दाबी पेस गरेका हुन् । ६० सदस्य रहेको गण्डकी प्रदेश सभामा एमालेका २७ सांसद छन् । मनाङका राजीव गुरुङ एकमात्र स्वतन्त्र सांसद हुन् ।

पोखरेललाई मुख्यमन्त्री बनाउने दाबीमा जनमोर्चाका सांसद कृष्ण थापा भने सहभागी छैनन् । उनलाई पार्टीले कारबाही गरेको पत्र शुक्रबारै प्रदेश सभामा सभामुख नेत्रनाथ अधिकारीले पढेर सुनाएका थिए । यसअघि पनि जनमोर्चाले थापालाई २० जेठमा कारबाही गरेको भन्दै सभामुखले सांसद पदबाट उनी मुक्त भएको जानकारी सभालाई गराएका थिए ।

त्यसविरुद्ध थापाले हालेको रिटमा सर्वोच्चले उनलाई पुनर्बहालीको अन्तरिम आदेश गरेको छ । उक्त मुद्दाको अन्तिम किनारा लागेको छैन।मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राखेको विश्वासको मत प्रदेश सभामा बिहीबार असफल भएको थियो । उनको पक्षमा २७ र विपक्षमा ३० मत परेको थियो ।

शुक्रबार प्रदेश सभाले उक्त जानकारी प्रदेश प्रमुखलाई गराएको थियो । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्ति गर्ने प्रयोजनका निम्ति २९ गते ३ बजेभित्र आउन प्रदेश सभा सदस्यका नाममा आह्वान गरेकी थिइन् ।

Back to top button