संविधानमाथि निरन्तर प्रहार भएको पूर्व-प्रधानमन्त्रीको आपत्ति

प्रधानमन्त्री केपी शर्मा ओलीबाट निरन्तर नेपालको संविधानमाथि प्रहार भएको भन्दै पाँच पूर्वप्रधानमन्त्रीले आपत्ति जनाएका छन् । शनिबार संयुक्त अपील सार्वजनिक गर्दै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईले आपत्ति जनाएका हुन् । ओलीको कदमले जनताको संघर्ष र संविधानमा घात भएको उनीहरुको ठहर छ ।

‘प्रधानमन्त्री केपी ओलीबाट निरन्तर एकपछि अर्को गरी नेपालको संविधानमाथि प्रहार गर्ने कार्य भइरहेको छ’, अपीलमा भनिएको छ, ‘नेपाली जनताको लामो र कठोर संघर्ष तथा आन्दोलनबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र तथा कानूनको शासनमाथि नै घात गरिएको छ ।’

सरकारले चुरे र महाभारत शृङ्खलाबाट गिटी, बालुवा उत्खनन गरेर व्यापार घाटा कम गर्ने कार्यक्रम ल्याएको भन्दै उनीहरुले आपत्ति जनाएका छन् । यो निर्णयलाई उनीहरुले घरमा आगो लगाएर अरुको हितमा खरानी बेच्नुजस्तै भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘विशेषतः चुरे र महाभारत श्रुंखलामा हुने त्यस्तो उत्खनन्बाट जंगल विनाश हुने र पानीका मुहानहरु सुक्ने तथा तराई क्षेत्र मरुभूमिकरण हुने स्थिति उत्पन्न हुने वातावरणविद्हरुको भनाईरहेको छ’, अपीलमा भनिएको छ, ‘आफ्नो घरमा आगो लगाएर अरुको हितका लागि खरानी बेच्ने जस्तो सरकारको उक्त निर्णयको तीब्र विरोध गर्दै तत्काल त्यस्तो निर्णय खारेज गर्न माग गर्दछौं ।’

 

Back to top button