‘जसपा’को दुबै पक्षले गरेको कारवाही अमान्यः निर्वाचन आयोग

निर्वाचन आयोगले जनता समाजवादी पार्टी जसपाको दुवैपक्षको निर्णयलाई आधिकारिकता नदिने निर्णय गरेको छ । आयोगको आइतबारको बैठकले पार्टी अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले एक-अर्कालाई कारबाही गरेको निर्णयसहित पदाधिकारी हेरफेर गर्न दिएका दुवै निवेदनलाई आधिकारिक मान्न नसक्ने निर्णय गरेको हो ।

आयोगले साविकका दुवै अध्यक्ष कायम रहने निर्णय गरेको छ । ‘विधानतः केन्द्रीय समितिका दुईजना अध्यक्ष केन्द्रीय कार्यकारिणी समितिमा रहने व्यवस्था भएकोमा एक जना अध्यक्ष उपेन्द्र यादवको हस्तक्षार भई अर्का अध्यक्ष महन्थ ठाकुरसमेत चारजना पदाधिकारीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको र अर्का अध्यक्ष महन्थ ठाकुरको हस्ताक्षरबाट अध्यक्ष उपेन्द्र यादवलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको देखिन्छ । एकजना अध्यक्षबाट मात्र हस्ताक्षर भई आएको विषयलाई प्रमुख पदाधिकारीबाट जानकारी गराएको विषय हो भनी भन्न सकिएन,’ आयोगको निर्णयमा उल्लेख छ ।

यसर्थ एकजना अध्यक्षको हस्ताक्षरबाट राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम विवरण अद्यावधिक गरिदिन भनी जानकारी गराएको विषयलाई कानुन र दलको विधानसम्मत मान्न नमिल्ने आयोगको निष्क्रक्ष छ ।

‘अतः माथि उल्लेखित तथ्य, आधार, कारण र कानुनी व्यवस्थासमेतको आधारमा जनता समाजवादी पार्टी, नेपालको अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुर, कार्यकारिणी समितिका सदस्यहरु राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण र अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरी अद्यावधिकका लागि अनुरोध भै आएकोमा माग वमोजिम राजनीतिक दलसम्बन्धी ऐन,२०७३ को दफा ५१ बमोजिम अद्यावधिक गर्न मिलेन । राजनीतिक दलसम्बन्धी नियमावाली, २०७४ को नियम २५ को उपनियम (६) बमोजिम सो दलको पदाधिकारीको विवरण साविककै कायम रहेकोले प्रस्तुत निर्णयको जानकारी दलका दुवै अध्यक्षलाई दिने,’ आयोगको निर्णयमा भनिएको छ ।

Back to top button