माथिल्लो तामाकोसी आयोजना सम्पन्नः ४५६ मेगावाट विद्युत उत्पादन हुने

स्वदेशी लगानीमा निर्मित माथिल्लो तामाकोसीको अन्तिम परीक्षण सफल भएको छ । यो सँगै सोमबारदेखि बिजुली उत्पादन हुने भएको छ । ४५६ मेगावाट विजुली उत्पादन गर्ने यो आयोजनाबाट पहिलो चरणमा पहिलो युनिटबाट ७६ मेगावट उत्पादन गरिनेछ । उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि खिम्ति सवस्टेशनमा तार तान्‍ने काम पनि भइसकेको छ । आयोजनाबाट उत्पादित विद्युत गोंगर-खिम्ती-ढल्केबर २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह गरिने छ ।

नेपाल विद्य‌ुत प्राधिकरणले आयोजनाबाट २१ असार सोमबारदेखि पहिलो युनिटबाट विद्युत उत्पादन सुरु गर्ने तालिक तय गरेको छ । ७६ मेगावाटका छ वटा युनिट छन् यो आयोजनामा । पहिलो युनिटबाट विद्युत उत्पादन भएपछि बाँकी युनिटहरुबाट क्रमश विद्युत उत्पादन हुनेछ ।

स्वदेशी लगानीमा निर्माण भएको माथिल्लो तामाकोसी सबैभन्दा ठूलो आयोजना हो । दोलखास्थित यस आयोजनाबाट ४५६ मेगावाट विजुली उत्पादन हुनेछ । आयोजनामा विभिन्न युनिटमा ७६ मेगावाट क्षमताको ६ वटा टर्वाइन जडान गरिएको छ । आगामी असार मसान्त भित्रमा ३ वटा युनिटबाट ७६ मेगावाटका दरले २२८ मेगावाट विद्युत उत्पादन सुरु गर्ने लक्ष्य रहेको छ। निर्माण सकिएपछि गत वैशाखको दोस्रो हप्तादेखि नै माथिल्लो तामाकोसीको जलाशय भरेर परीक्षण सुरू गरिएको थियो ।

Back to top button