स्विट्जरल्यान्डलाई हराउँदै स्पेन सेमिफाइनलमा

स्पेन युरोकप २०२० फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा शुक्रबार राति भएको पहिलो क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम ४ मा पुगेको हो ।

१० खेलाडीमा सिमित स्विसका कप्तान जेर्दान शकिरीले टोलीलाई १–१ गाेलकाे बराबरीमा ल्याएपछि खेल अतिरिक्त समयमा धकेलिएकाे थियाे ।

अतिरिक्त समयमा पनि दुवै टाेलीबाट गाेल हुन सकेन र खेल टाइब्रेकरमा पुग्याे । जसमा तीन पटककाे विजेता स्पेनका गोलरक्षक उनाइ सिमोनले स्विस टाेलीको दुई प्रहार बचाए ।

पेनाल्टीमा स्विस टाेलीका मारियो गाभ्रानोभिचले मात्र गोल गरे। फाबियन, अकान्जी म्यानुएलको प्रहार सिमोनले बचाए भने रुबेन भेर्गासको प्रहार बाहिरिएको थियो ।

यता, स्पेनका डानिल ओल्मो, जेरार्ड मोरेनो र मिकेल ओयार्जबलले गोल गरे । सर्जियो बुस्केट्सको प्रहार पोस्टमा लागेर फर्किदा रोड्रीको प्रहार स्विस गोलकिपर यान सोमेरले बचाए ।

त्यसभन्दा अगाडी खेलको आठौं मिनेटमा नै स्पेनले अग्रता लिएको थियो । कर्नरमा कोकेको प्रहार सबैलाई बिट गर्दै गएपछि जोर्डी अल्बाले बल नियन्त्रणमा लिएका थिए । पेनाल्टी क्षेत्र बाहिरबाट उनले गरेकाे प्रहार डेनिस जाकारियालाई लाग्दै गोल भएको थियो ।

यस्तै, ६८औं मिनेटमा स्पेनका सेन्टर डिफेन्डर द्वय पाउ टोरेस र एमेरिक लापोर्टबीच तालमेल नमिल्दा फुस्किएको बल फ्रुएलरले नियन्त्रणमा लिँदै शाकिरिलाई दिएका थिए। शाकिरीले गरेको प्रहार गोल भएकाे थियाे ।

अब स्पेनले सेमिफाइनलमा इटाली र बेल्जियमको विजेतासँग खेल्ने छ । यो दोस्रो क्वाटरफाइनल खेल केहीबेर पछि सुरु हुनेछ ।

Back to top button