बेल्जियमलाई पराजित गर्दै इटाली सेमिफाइनलमा

इटाली संघर्षपूर्ण जित निकाल्दै युराेकप २०२० फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । जर्मनीको एलिनाज स्टेडियममा शुक्रबार राति भएकाे दाेस्राे क्वाटरफाइनल खेलमा बेल्जियमलाई २–१ गाेल अन्तरले पराजित गर्दै इटाली अन्तिम ४ मा पुगेकाे हाे ।

खेलको सुरुवाती समयदेखि नै दुवै टोलीले आक्रमण बुन्दै गएपछि तीनै गाेल पहिलाे हाफमा सम्भव भएकाे थियाे । खेलकाे ३१औं मिनेटमा निको बरेल्लाले गोल गर्दै इटालीलाई सुरुवाति अग्रता दिलाएका थिए ।

उनले पेनाल्टी क्षेत्रभित्र मार्को भेराट्टीले दिएको पासलाई नियन्त्रणमा लिएर गरेकाे प्रहार गोल भएको थियो ।

४४औं मिनेटमा लोरेन्जो इन्सिग्नेले इटालीको अग्रता दोब्बर पारे । मैदानको बायाँ भागबाट बल लिँदै अघि बढेका इन्सिग्नेको प्रहारलाई गोलरक्षक थिबाउट कोर्टुवाले बचाउन सकेनन् ।

इन्ज्युरी समयमा रोमेलु लुकाकुले पेनाल्टीमा गोल गर्दै खेल २–१ काे स्थितिमा ल्याए ।

इटालीका डिफेन्डर डी लोरेन्जोले डोकुलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थि ए। उक्त पेनाल्टीमा लुकाकुकाे प्रहार गोलरक्षक जियानलुइजी डोनारुम्माले ठम्याउन सकेनन् ।

दोस्रो हाफमा आक्रमक खेलेकाे बेल्जियम बराबरीकाे स्थितिमा भने फर्किन सकेन । ६१औं मिनेटमा केभिन डी ब्रुएनको लो क्रसलाई लुकाकुले गोललाइन नजिकबाट गोल गर्न सकेनन् ।

इटालीले अब सेमिफाइनलमा स्पेनको सामना गर्नेछ। स्पेनले पहिलो क्वाटरफाइनलमा १० खेलाडीमा समेटिएको स्विट्जरल्यान्डलाई टाइब्रेकरमा ३-१ ले हराउँदै अन्तिम ४ मा स्थान बनाएको थि ।

Back to top button