हिन्दू धार्मीक ग्रन्थका अनुसार भगवान श्रीकृष्णको जन्म द्वापरांतमा भएको पाईएको छ। यो हिसाबले श्रीकृष्णको जन्म कलीयुगको आगमन भन्दा ५०० देखि १ हजार वर्षको बीचमा भएको अनुमान गर्न सकिन्छ। हिन्दू पञ्चाङ्गका अनुसार २१औँ शताब्दीको सुरुमा कलियुगको आयु ५१०० वर्ष तोकिएको छ। भगवान श्रीकृष्णको जन्म भाद्र कृष्ण अष्टमीका दिन मथुरावासी वसुदेवकी धर्म पत्नी देवकीको गर्भबाट राजा को कारागार भित्र भएको थियो। देवकी राजा कंशकी बहिनी थिईन्। उनीहरू दुवै भाइ बहिनीहरू तत्कालीन मथुराका राजा उग्रसेनका सन्तान थिए। राजा कंश देवकीको विवाहमा वशुदेव र देवकीलाई रथमा राखेर आफुले रथ हाँक्दै उनको घरमा पुगाउन जाँदै थियो। त्यसैबेला नारदमुनी आएर कंशलाई भने- “जसलाई तिमी आफ्नो बहिनी ज्वाँई भनेर पुगाउ जाँदै छौ उनको आठौँ गर्भबाट तिम्रो मृत्यु हुनेछ।” नारदको यो कुरा सुनेर कंश रिसले आगो भयो उसले देवकीको हत्या गर्ने मनसायले आफ्नो तरवार निकाल्यो तब वशुदेवले कंशको अघाडी हात जोडेर देवकीको गर्भबाट जती बालकहरू जन्मिन्छन, ती सबैलाई जन्मेकै घडी कंशलाई सुम्पीदिने संकल्प गर्दै देवकीको प्राण रक्षाको विन्ती गरे। यो सुनेर कंशले वशुदेवको प्रतिज्ञा स्विकार गरेर आफ्नो घर गयो। केही दिन पछि देवकीको गर्भबाट पहिलो बालक पैदा भयो। वशुदेवले आफ्नो प्रतिज्ञा बमोजिम बालक कंशको घर पुराए। यो देखेर कंशले देवकीको आठौँ गर्भको बच्चा मात्र मलाई दिनु बाँकीका बालकहरू दिनु पर्दैन भनि फर्कायो तर नारदमुनी आएर जो गर्नु छ यी बालकलाई गर आठौँ गर्भको बालकलाई त तिमी केही पनि गर्न सक्दैनौ भने। यो सुनेर राजा कंशले वसुदेवसँग बालक मागेर बालकलाई जमीनमा पछारी हत्या गरिदियो। यसै गरी देवकीका सातवटा बालकहरूको कंशले हत्या गरिदियो। त्यस पछि देवकीलाई आठौँ गर्भ रह्यो। राजा कंशले देवकीको यो गर्भबाट आफ्नो कालको जन्म हुने सोचेर गर्भ रहेको दशौँ महिनामा देवकी र वसुदेवलाई जेलमा बन्द गरेर राख्यो। जेलको बाहिर आफ्ना पहरेदारहरूलाई कडा पहरा दिने आज्ञा गरेको थियो। तर भगवानको लिला अपरम्पार छ। जब श्रीकृष्णको जन्म भयो त्यसबेला पहरेदारहरूलाई मोह निद्राले ढाक्यो। भगवान श्रीकृष्णको जन्मको भन्को सम्म पनि पहरेदारहरू थाह पाएनन्। भगवान विष्णुले पहिले त वसुदेव देवकीलाई आफ्नो चतुर्भुज अवतारको दर्शन गराए। त्यसपछी वसुदेवलाई “गोकुलमा नन्द गोपका घरमा भरखरै मात्र एक कन्याको जन्म भएको छ। तिमी मलाई गोकुल लैजाउ त्यहाँ मलाई यशोदाको काखमा सुताएर उनको छोरीलाई ल्याएर यहाँ आउनु।” भनि सम्झाएर अन्तर्ध्यान भए। केही छिन पछि देवकीको गर्भबाट भगवान श्रीकृष्णको जन्म भयो। भगवानको लिला अनुशार वशुदेव र देवकीका सबै नेलहरू खुल्ला भए भगवान बिष्णुले बताए बमोजीम वसुदेवले बालक कृष्णलाई टोकरीमा राखेर गोकुल जान हिँडे। बाटोमा यमुनाजी पर्छन्। यमुनाले पनि भगवान श्रीकृष्णको दर्शन गर्नाको साथै वसुदेवको लागि बाटो छोडी दिईन्। केही छिनमै वसुदेव यशोदाको काखमा खेलीरहेकी कन्यालाई उठाई बालक कृष्णलाई त्यहाँ सुताएर मथुरा फर्के। तर यो कुरा यशोदालाई थाहा भएन। यशोदालाई प्रसव पिडाका कारण कन्याको जन्म भएको पनि थाहा थिएन। यता वसुदेवले मथुरा आएर कन्यालाई देवकीको काखमा राखी जेलमा पूर्ववत बन्दी भएर बसे। केही छिन पछि बालीका जोर जोरले रुन थालिन्। यो सुनेर पहरेदारहरूको मोह निँद्रा खुल्यो कसैले बालक जन्मेको कुरा कंशलाई भन्यो। बालक जन्मेको कुरा थाहा पाएर कंश जेलघरमा आएर बालीकालाई देवकीको हातबाट खोसेर बाहिर गयो बालीकालाई पहिलेका बालकहरू जस्तै गरी जमीनमा पछार्दा बालीकाले आकाशमा उड्दै “पापी मलाई जती कोशीस गरे पनि मार्न सक्दैनस् तँलाई मार्ने तेरो शत्रु गोकुलमा छ” भनिन्। यी बालीका महा शक्ति योगमाया दुर्गा भगवतीको अवतार थिईन् कृष्णको जन्म जेलमा भएको हो । भाद्र कृष्ण अष्टमीको आधा रातमा जेलमा आठौँ गर्भ जन्माउनका लागि थुनिएकी देवकीबाट उनको जन्म भएको हो । तर उनको गर्भलाई सामान्य गर्भ मानिंदैन । क्राइस्ट कुमारी मरियमको गर्भमा प्रवेश गरेका थिए र यसको सङ्केत बेथलहेमको ताराले दिएको थियो । बुद्धकी आमा मायावतीले बुद्ध गर्भमा आउनु अघि सेता हात्ती मुखबाट शरीर भित्र प्रवेश गरेका देखेकी थिइन् । श्रीकृष्णको जन्म हुनु धेरै अघि आठौँ गर्भको रूपमा धराको अन्याय र अत्याचार नाश गर्न ईश्वरको अवतार हुने आकाशवाणी भएको घटना भागवत कथामा उल्लेख छ । आठौँ गर्भ ज्यादै विशेष भएकोले सातौँ गर्भमा त्यसको पूर्व तैयारी गरिएको थियो । तर पछि त्यस गर्भलाई ईश्वरीय विधिले रोहिणीको गर्भमा बलरामको रूपमा स्थानान्तरण गरिएको थियो । कृष्णलाई यशोदाको गर्भको बालिकासंग साटिएको थियो । वास्तविक जन्मको रूपमा कृष्णलाई आठौँ गर्भ भन्न मिल्दैन तर एउटी बालिकाको बलिदान समेतलाई हिसाब गर्दा उनी आठौँ नै हुन्छन् । यसरी भगवान कृष्ण एक असाधारण गर्भ र असाधारण जन्म थिए । उनले जन्मलिनु अघि देवकी र वसुदेवलाई चतुर्भुज स्वरुपम दर्शन दिएको कथा भागवतमा उल्लेख छ । जन्म हुना साथ आमाको दूध मुखमा राख्न नपाइ छुट्टिनु परेको घटनालाई ध्यान दिने हो भने कुनै पनि दूध खाने बालकलाई यो भन्दा दुर्भाग्यको घटना अर्को हुन सक्दैन । जुन बालक जन्मनु अघि असुरक्षित छ र जन्मि सकेपछि पनि निरन्तर असुरक्षित छ उसको जीवनको संघर्षको जटिलतालाई शब्दमा बयान गर्न सकिंदैन । जीवनका भयंकर असुरक्षित क्षणहरूलाई नाचेर, गाएर, अत्यन्त हलुका रूपमा लिएर, अर्काको घरमा आफ्नो घरमा भन्दा प्रिय वातावरण बनाएर हुर्कने बच्चाको असाधारण क्षमतालाई सामान्य मानवको आँखाले हेर्न सकिंदैन ।
इतिहासका प्रमाण
इतिहासकाहरुका लागि एक प्रामाणिक ग्रन्थ इन्डिका र त्यसका लेखक मेगास्थनीजका भनाईहरु आधिकारिक मानिन्छन् । किनभने त्यसमा तिथि मिति उपलब्ध छ । त्यस पुस्तकमा ह्रीक्लियस शब्दको उल्लेख छ । जुन शब्द हरिकृष्ण वा हृषीकेशका लागि प्रयोग गरिएको हो । यसका अतिरिक्त मेगास्थनीजले मैथोरा र क्लीइसोबोरा (कृष्णपुर) भनी दुइठूला र प्रसिद्ध शहरको नाम पनि उल्लेख गरेका छन् । बौद्ध जातक ग्रन्थहरूमा कृष्णलाई कान्ह शब्द प्रयोग गरिएको छ । पाकिस्तान सिन्ध प्रान्तको लरकाना जिल्लामा रहेको मोहन जो दारोको उत्खननमा एक बालकले दुइ वृक्षहरु उखेलेको र त्यसबाट दुइ व्यक्तिहरु उत्पत्ति भएको चित्र अंकित छ । यो चित्र भागवत कथाको यमलार्जुन उद्धारको हो भनी मानिएको छ ।
श्रीकृष्णको पूजा
हे नाथ यो पतितको अपराध बिर्सि पक्री लगाम तल खस्न नदेउ बिन्ती जो पर्छ दुःख यसमा सपना गराउ हे कृष्ण शान्ति रसको सरिता बहाउ संसारका मरण को भयले डराई घुम्दा अहो अभय स्थान कहि नपाई आएँ प्रभु चरणमा अभय स्थान देउ हे कृष्ण शान्ति रसको सरिता बहाउ पोल्यो कड़ा विषय बैभवले मलाई पाईन आश्रय कतै तिर हाय हाय चर्की रहेछ मन भित्र कठोर घाऊ हे कृष्ण शान्ति रसको सरिता बहाउ ति कामीनी कनकमा मन यो भुलेर धेरै गरें अधम काम अहो भुलेर ती उग्र पापहरूबाट हरे बचाउ हे कृष्ण शान्ति रसको सरिता बहाउ हे कृष्ण ब्रिन्दाबनको बिहारी हे सत्यको सुन्दर रूपधारी हे बिश्व ब्यापी त्रयता पहारी उद्धार हाम्रो घर हे मुरारी ईश्वरीय शक्तिको रूपमा भगवान श्रीकृष्णको पूजा आर्यावर्तमा लगभग ५०० वि.पू. प्रारम्भ भइसकेका फप्रमाणहरु भ्ेटिन्छन् । ऋग्वेदमा लेखिएको छ– एक यस्तो गोठालो जो कहिल्यै च्युत हु“दैन, मित्रवत् छ, सुन्दर वस्त्रले सजिएको छ । र यो समय समयमा पृथ्वीमा अवतरित भइरहन्छ । (ऋग्वेद १.२२.१६४) निश्चित रूपमा यो वर्णन भगवान श्रीकृष्णसंग नै सम्बन्धित छ । स्वामी योगानन्दले भगवद्गीता पुस्तकमा भगवान श्रीकृष्ण र क्राइस्टका जीवनको तुलनात्मक झलक प्रस्तुत गरेका छन् । उनको विचारमा नामको उच्चारणमा धेरै समानता छ । जीवनका प्रारम्भिक दिन र जीवनका अन्तिम दिनका घटनाहरूमा पनि समानता पाइन्छ । क्राइस्टको स्वरुप एक भेडागाठालोको रूपमा सुन्दरतम रूपमा अभिव्यक्त हुन्छ भगवान श्रीकृष्णको रुप मुरलीधर र गाईगोठालोको रूपमा नै सुन्दरतम रूपमा अभिव्यक्त हुन्छ । संभवतः उनको नाम गोपाल राख्नुको पछाडि यही दर्शनले काम गरेको छ । गोपालको अर्थ हुन्छ गाईको रेखदेख गर्ने र गोविन्दको अर्थ हुन्छ गाईको खोजी गर्ने । यी सबै घटनाले श्रीकृष्णको गाई प्रेम व्यक्त गर्छ । छान्दोग्य उपानिषद (९०० वि.सं. पूर्व) मा देवकीपुत्रको ससम्मान उल्लेख छ । पाणिनी अष्टाध्यायी (वि.सं. ५०० शताब्दी पूर्व), अर्जुन, र वासुदेवको सम्मानपूर्ण अभिलेख छ । कौटिलीय अर्थशास्त्र (३०० वि.सं. पू.) श्रीकृष्ण र द्वैपायनको उल्लेख हुनुका साथै दुर्योधनले गरेका गलतीहरूको उल्लेख छ । कृष्णलाई विशेष पूजित व्यक्तितवको रूपमा सङ्केत गरिएको छ । पातञ्जली महाभाष्य (१५० वि.सं. पूं) मा कृष्ण र अर्जुन दुवै पूजाका विशेष अधिकारी पात्र छन् भनिएको छ । महाभारत र भागवतको विवरण अनुसार श्रीकृष्णलाई सर्वप्रथम ईश्वरूपमा पहिचान गर्ने एक दृष्टिविहीन गोठालो साथी थियो । यशोदालाई पटक पटक त्यो रुप देखाउंदा पनि उनले बुझ्नै सकिनन् । गोपिनीहरूले उनको प्रेमी रूपलाई नै प्रधान मानेका थिए । उद्धव, भीष्म, विदुरले उनको अवतार रुपम जानेका थिए । भीष्मले यसैका लागि विष्णुसहस्रनाम रचना गरे । दुर्योधन र अर्जुन दुवैले श्रीकृषण्को विराट रुप वा विश्वरुप देखेका थिए तर दुर्योधनले त्यसलाई नौटंकी ठान्यो भने अर्जुनले त्यस रूपको दर्शन पछि ईश्वर भन्ने कुरा थाहा पाइ श्रीकृष्णको आज्ञा पालन गरे ।
भगवान श्रीकृष्णले गोकुल, वृन्दावन र ब्रजमा रहँदा कैयोँ बाल लिला रचाएका थिए। कहिले कसैका घरको मखन चोरी खाएका थिए त कहिले गोठालाहरूसँग वनमा गाई चराउन गएका थिए। कहिले राधादी गोपिनीसँग रासलिला गरेका थिए त कहिले माता यशोदालाई भए नभएका मागहरू राखेर दिक्क पारेका थिए। कहिल्यै पुतना, बत्सासुर, बकासुर, प्रलम्बासुर, केशी आदी ठूला ठूला वीर असुरहरूको बध गरेका थिए त कहिल्यै गोबर्धन पर्वत धारण जस्ता अनेक्यौँ बाल लिला देखाएका थिए। यहाँ भगवान श्रीकृष्णले गरेका केही बाल लिलाको छोटकरीमा वर्णन गरिदैछ।
पुतना बध
मथुराको राजा कंशले श्रीकृष्ण गोकुलमा भएको थाहा पाएर आफ्नी एक स्त्री योद्धा पुतना (होलीका)लाई गोकुलका भएका बालकहरू सबैलाई मार्ने आज्ञा दियो। राजा कंशको आज्ञानुसार पुतना पनि गोकुलमा गएर आफ्नो स्तनमा बिष लगाएर बालकहरू चोर्दै स्तनपान गराउन लागी। यसै क्रममा पुतना यशोधाको घरमा पुगी। यशोधा श्रीकृष्णलाई घरमा सुताएर आफू घरको काममा लागेकी थिईन्। यसै बेला राम्रो अवसर पाईयो भन्ने ठानी पुतनाले बालक कृष्णलाई चोरेर लगी केही पर गएर कृष्णलाई स्तनपान गराउन लागि तर भगवान श्रीकृष्णले स्तनपान गर्दा गर्दै पुतनाको प्राण समेत चुसीदिए। तब पुतना निष्प्राण भएर जमीनमा ढली। पुतना जमीनमा ढल्दा भयंकर आवाज आयो सबै ब्रजवासीहरू के भयो,? यत्रो आवाज कसरी कहाँबाट आयो,? भन्ने संका गर्दै आवाज आएको तर्फ दौडे। त्यहाँ सबैले पुतनाको मृत शरीरमा बालगोपाल खेलीरहेको देखे। यशोदा लगाएत सबै गोपहरूले पुतनाको मृत शरीरबाट श्रीकृष्णलाई उठाएर माया गरे। पछि गोपहरूले पुतनाको विशाल मृत शरीरलाई काटेर जलाए। भगवान श्रीकृष्णको हातबाट मारीएकी हुनाले पुतनाको मृत शरीर आगोमा जल्दा धुपको जस्तै वासना फैलिएको थियो। त्यसै दिनलाई आधार मानेर आज पनि हिन्दू समाजमा होली मनाएर होलीका जलाउने चलन यथावत छ।
यमुलार्जुन उदार
एक दिन यशोदाले दही मथ्दै गरेको बेलामा बालगोपाल श्रीकृष्णले माता यशोदालाई स्तनपानको ढिपी गर्न थाले तर यशोदा आफ्नो काममा व्यस्त भएका कारण कृष्णको माग प्रती वास्ता गरिनन्। भगवान श्रीकृष्णले रिसाएर त्यसैबेला लातीले हानेर दही मथ्ने भाँडो फुटाए। तब यशोदाले रिसाएर कृष्णलाई चेताउनका निमित्त ओखलमा बाँधेर राख्न खोजिन् तर प्रभुको लिला अपरम्पार थियो यशोदाको घरमा भएका सबै डोरीहरू कृष्णलाई बाँध्नकोलागी छोटा पर्न गए। यसरी सबै डोरीहरू छोटा पर्न गए पछि यशोदा दु:खी भएर अब के गरुँ भनेर विचार गर्न लागिन्। त्यो देखेर आमालाई दु:ख भयो भन्ने ठानी कृष्णले सानो डोरीलाई पनि बाँध्न पुग्ने बनाए। तब योशोदा कृष्णलाई ओखलमा बाँधेर आफुले दही मथ्ने काम गर्न थालिन्। त्यस पछि भगवान श्रीकृष्णले ओखललाई घिसार्दै जंगल तिर लगे जंगलमा दुईवटा ठूला जमुलार्जुनका रुखहरू विचमा ओखल अड्किएर रुखहरू भाँचिए। रुख भाँचिएको आवाज पुरै गाउँमा फैलियो सबैजना आवाज आएको दिशा तर्फ दौडे। रुखहरू भाँचिएको ठाउँबाट दुईजना सुन्दर पुरुषहरू निस्केर भगवान श्रीकृष्णको प्रार्थना गर्न थाले। तब कृष्णले उनीहरू पूर्व जन्ममा नल र कुबेर दुई भाइ रहेका र देवराज इन्द्रको श्रापले गर्दा यहाँ रुख भएर जन्मिएका आज उदार गर्न निमित्त आफुले यो सबै काम गरेको बताए। त्यस पछि ती दुवै जना दिव्य विमानमा बसेर स्वर्ग तिर प्रस्थान गरे भने कृष्णलाई गाउँले तथा यशोदाले घरमा ल्याए।
मखन चोर
भगवान श्रीकृष्णले बाल्यकालमा अन्य गोप बालकहरूसँग मिलेर गोपीनीहरूका घरमा गएर मखन (नौनी) चोरेर खान्थे। यसैले भगवान श्रीकृष्णलाई मखन चोर पनि भनेको सुनिन्छ। यसरी दिन दिनै मखन चोरेर सताएकाले एकदिन गोपिनीहरू सबै यशोदाको घरम जम्मा भएर यशोदासँग कृष्णको चुकली गरे। तब यशोदाले कृष्णलाई सोधिन्। भगवान श्रीकृष्ण रुँदै भनेकी गोपिनीहरू मलाई चोरीको झुठो आरोप लगाउदै छन्। यो सुनेर यशोदाले गोपीहरूलाई गाली दिएर त्यहाँबाट भगाइन्। तब गोपीहरू कृष्णलाई नौनीसँगै समात्ने योजना बनाए। भोलिपल्ट सबै गोपीहरू आफ्नो आफ्नो घरमा चियो बसेर मखन चोरको बाटो हेर्न लागे। यत्तिकैमा मखन चोर केही साथीहरूलाई लिएर एक घरमा गए। सबै गोपीहरू मखन चोरलाई पक्राउ गर्न त्यसै घरमा गए जहाँ मखनको चोरी हुँदै थियो। मखन चोरको समुह त्यो घरमा भएको मखन चोरेर अर्को घरमा जाने तयारीमा बाहिर निस्कने बित्तिकै मखन चोर पक्राउ परे। त्यस पछि सबै गोपीहरू श्रीकृष्णलाई यशोदाको घरमा लिएर गए। तर कृष्णको लिला अपरम्पार थियो। कृष्णलाई जुन गोपीले समातेर ल्याएकी थिईन् कृष्ण उनैको छोराको रूपमा थिए। यशोदाको घरमा गएर गोपीहरूले भगवान श्रीकृष्णले मखन चोरे सबुत सहित पक्रेर ल्याएको कुरा बताए। यशोदाले बालकको मुखमा हेरेर हाँस्दै भनिन्- “तिमीहरू सबै पागल त भएनौ बालकलाई हेर कसको छोरा हो? मेरो कान्हैया त आज बिहानै देखि घर मै छ।” यो सुनेर सबै गोपीहरूले पक्रेर ल्याएको मखन चोरलाई हेरे यो त आफ्नै पुत्र पो हो। सबै गोपीहरू लाजले केही पनि भन्न नसकेर आफ्नो आफ्नो घर गए।
राधाकृष्ण
राधा जसलाई राधीका, राधे, अदी नामले पनि चिनिन्छ भगवान श्री कृष्णकी बाल्यकालकी सखा थिईन् भगवान श्रीकृष्णले राधाजीको सँग निकुञ्ज वन र वृन्दावन हजारौ लिला रचाएका थिए। राधा ब्रज निवासी भृषभानु नामका गोपकी छोरी थिईन् उनकी आमाको नाम कृती थियो। राधाको जन्म पनि कृष्ण जन्मेकै वर्ष राधा अष्टमीका दिन भएको थियो। राधालाई लक्ष्मीको अवतार मानिएको छ। कृष्णको मुरलीको धुन सुन्ने बित्तीकै राधाजी घरका सबै कामहरू छोडेर त्यतै जाने गर्थीन्। राधा कृष्णमा मोहीत थिईन् भने कृष्ण राधामा मोहीत थिए। राधा जी सँधै गोठमा गाई दुहनजाँदा कृष्णलाई बोलाउने गर्थिन्। एक दिन श्रीकृष्णलाई राधाको गोठबाट जान लाग्दा राधीकाकी सखिहरूले देखिन्। तब राधीकालाई जिस्काउ लागिन् यो देखेर राधीका आफुलाई सर्पले टोकेको बहाना गरेर बेहोस भइन्। राधीकाका सखीहरूले उनलाई कृती भए ठाउँ पुराए। यसरी राधीका बेहोस भएकी देखेर कृतीले आतिदै राधाका सखीहरूसँग राधा कसरी बेहोस भईन् भनेर सोधिन्। सखीहरूले राधा बेहोस हुँदा सर्पले टोकेको कुरा गर्थिन् भने तब कृतीले गाउँका सबै वैद्यहरूलाई बोलाईन् सबैले झारफुक इत्यादी गरे तर राधाको होस आएन। त्यस पछि एक राधीकाकी एक सखीले अंदाज लगाएर श्रीकृष्णले सर्पको टोकाई निको पार्छन् भनिन् यो सुनेर कृती आफै कृष्ण भए ठाउँ गएर कृष्णलाई बोलाएर ल्याइन्। कृष्णले अलिकती पानी हातमा लगेर मन्त्र पढे झैँ गरी राधाको मुखमा छिँटा मारेर आफू मुरली बजाउन लागे।मुरलीको धुन सुन्दै राधालाई होस् आयो। मिलको लागि आमाहरूलाई ठगेर यस्तै खाले लिलाहरू राधा र कृष्ण गरीरहन्थे।
गोवर्धन धारण
एक दिन भगवान श्रीकृष्णले नन्दादी गोपहरूलाई केही पूजा सामग्री लिएर मन्दिर जान लागेका देखे। यो देखेर भगवान श्रीकृष्णले सबैलाई कहाँ र किन जाँदै छौ भनेर सोधे। यो सुनेर नन्दादी गोपहरूले देवराज इन्द्रको पूजा गर्न मन्दिर जान लागेको बताए। तब कृष्णले यसरी इन्द्रको पूजा गर्नु भन्दा हामी जुन ठाउँमा बसेका छौँ त्यो गिरी गोबर्धनको पूजा गर्नु राम्रो भएको बताए। यो सुनेर ब्रजवासीहरूलाई कृष्णको कुरा ठिक लाग्यो। सबै मिलेर गोबर्धन पूजा गरे मन्दिरमा चढाएको प्रसाद इत्यादी सबै कृष्णले गोप्यरूपमा खाए। यो देखेर सोझा गोपहरूले देवता खुसी भएर हामीले चढाएको फल फूल, प्रसाद सबै देवताले खाए भन्ने ठाने। यो देखेर देवराज इन्द्रलाई साह्रै रिस उठ्यो उनले सबै मेघहरूलाई बोलाएर पुरा ब्रजलाई बगाउने आदेश दिए। देवराजको यो आज्ञा पाएर ब्रजमा घनघोर वर्षा हुन लाग्यो पुरा ब्रज जलमग्न भयो। जमीन भन्ने कुनै ठाउँ नै रहेन चारै तिर सागर झैँ पानी नै पानी भयो। यो देखेर ब्रजमा हाहाकार मचियो। बाँच्ने आशा सबैको हरायो। सबैले कृष्णले उल्टो मति सिखाएकोमा इन्द्र रिसाए भन्दै कृष्णलाई दोषी ठहराए। तब भगवान श्रीकृष्णले पनि देवराज इन्द्रको सेखी हरण गर्ने ठाने। कृष्णले सबै ब्रजवासीहरूलाई गोबर्धन गिरीको फेदीमा लिएर गए। आफ्नु कान्छी अङ्गुलीले गोबर्धन पर्वतलाई उठाएर एक गुफा बनाए। सबै ब्रजवासीहरूलाई गुफामा बसालेर आफुले एक हातले पर्वत उठाएर अर्को हातले मुरली बजाउदै सबैलाई मोहीत बनाए। एक हप्ता भरी वर्षा रोकिएन अंतमा इन्द्रले आफ्नो हार स्विकार गरेर भगवान श्रीकृष्णसँग माफी मागेर वर्षा बन्द गराए। वर्षा बन्द भैसके पछि कृष्णले सबैलाई बाहिर निकालेर पर्वत पूर्वानुसार राखेर बाहिर आए।
चिरहरण
एक दिन ब्रजका सबै गोपीहरूले भगवान श्रीकृष्णको व्रत गरेर व्रतको समाप्ती स्नान गर्न यमुनाको किनारामा रहेको तलाउमा गए। भगवान श्रीकृष्ण पनि गोपीहरूको आफू प्रतीको प्रेम भक्ति बुझ्नको लागि पछाडी पछाडी लुकेर गए। तलाउमा पुगेर गोपीहरूले कपडा खोलेर किनारामा राखेर सर्वांग नाङगा भएर तलाउमा स्नान गर्न लागे। श्रीकृष्ण सबै गोपीहरूका कपडाहरू लिएर नजीकैको कदमको रुखमा चढेर बसे। गोपीहरू स्नान गरेर तलाउको किनारामा आएर कपडाहरू नभेटाएकाले हैरान भए। उनीहरू आपसमा कपडाहरू कसरी हराए भन्दै छलफल गर्न थाले हावाले उडायो होला भने पनि यहाँ हुरी आएको देखिएन, कसैले चोरे लग्यो भने पनि यहाँ हामी बाहेक अरु कोही पनि आएको छैन भनेर धेरै किसमका तर्क बितर्क गर्न थाले। यो देखेर रुखमाथी बसेका कृष्ण मुरली बजाउन लागे। मुरलीको आवाज सुनेर गोपीहरू झस्किएर फेरी तलाउ भित्र पसे। गोपीहरू भित्री मनमा कृष्ण प्रती प्रेम भए पनि बाहिर मुखले कृष्णलाई गाली दिन थाले। कपडा न दिएमा राजा कंशसँग निसाब माग्ने धम्की दिए। यो सुनेर कृष्णले पनि रिसाएर म कपडा दिन्न तिमीहरू जे गर्न सक्छौ गर भने। गोपीहरूले कृष्ण रिसाए भन्ने थाहा पाएर गल्ती गरेकोमा माफी माग्दै कपडाहरू दिने विन्ती गर्न थाले। तै पनि श्रीकृष्णले गोपीहरूलाई सताइ सताइ कपडा फिर्ता गरे।
वत्सासुर, बकासुर बध
एक दिन भगवान श्रीकृष्णले यशोदालाई आफुहरू घरमा बसेर खेल्नु भन्दा गाइहरूका साथ वनमा गएर गाइ चराएर ल्याउने ढिपी गर्न थाले। यशोदाले कृष्णको उमेर सानो भएको कारण वनमा जान हुदैन भनि धेरै सम्झाईन् तर श्रीकृष्णले आफ्नो ढिपी छोडेनन्। यसरी कृष्णले ढिपी गरेका कारण यशोदाले ब्रजका अन्य गोठालाहरूलाई घरमा बोलाएर कृष्ण र बलरामले वनमा जान ढिपी गरीरहेका छन् यसैले यिनलाई आफुसँगै लैजाने , वनमा यी दुवै भाईको राम्रो निगरानी गरेर घर आउदा आफुसँगै ल्याएर आउने आज्ञा गरिन्। तब गोठालाहरूले कृष्णलाई आफ्ना साथ लिएर गए। वनमा गाइहरूलाई चर्न छोडेर आफूहरू खेल्न लागे। त्यसै बेला कंशले पठाएको एक जना वत्सासुर नामको असुर त्यहाँ बाछोको रूपमा देखियो बत्सासुरले कृष्ण र बलरामलाई लाती र सिँगले हान्नलाग्यो यो देखेर सबै गोठालाहरू डराए। तब श्रीकृष्णले बत्सासुरकका साथ लडेर बत्सासुरलाई मारे। आफ्नु भाइ मारिएको देखेर बत्सासुरको भाइ बकासुर रिसाएर आयो। बकासुर बकुल्लोको रूपमा आएर श्रीकृष्णलाई निल्यो। यो देखेर सबै गोठालामा हाहाकार मचियो। सबै रुन कराउन थाले तर कृष्णले बकासुरको घाँटीमा अड्केर आगो जस्तै जलाउन थाले त्यसैले बकासुरले कृष्णलाई निल्ल नसकेर वाक्यो। बकासुरले कृष्णलाई फेरी निल्ने प्रयास गर्न थाल्यो तर कृष्णले उसको मुख च्यातेर मारे। यसरी २ वटा राक्षसहरूको बध गरेर बेलुका पख घर फर्किए। यशोदाले वनमा घटेका घटनाहरू सुनेर भोलिपल्ट घरैमा खेल्नको लागि मुरली दिएर कृष्ण र बलरामलाई वन जानबाट रोकिन्।
प्रलम्बासुर, केसी बध
भगवान श्रीकृष्णलाई गोकुलमा भएको थाहा पाए पछि कंशले बिच बिचमा आफ्ना योद्धाहरूलाई गोकुल गएर श्रीकृष्णलाई मार्ने आज्ञा दिएर पठायो तर ती सबैलाई भगवान श्रीकृष्णले खेल खेलमै मारेर स्वर्ग पठाए। एक पटक भगवान श्रीकृष्ण र बलराम वनमा गोठालाहरूसँग खेलीरहेका बेला एक प्रलम्बासुर नाम गरेको दैत्य गोठालाकै भेषमा आएर आफू पनि तिनीहरूसँगै खेल्ने आग्रह गर्न थाल्यो। त्यो देखेर कृष्ण र बलरामले सबै थाह पाई सकेका थिए। उनीहरू सबैले प्रलम्बासुरलाई आफुसँगै खेल्न लगाए। सबैले पालै पालो गरेर एकले अर्कोलाई बोकेर केही पर लैजाने खेल खेल्न थाले। यसै क्रममा प्रलम्बासुरको पालो भगवान श्रीकृष्णलाई बोक्नु पर्ने आयो खेलको नियमानुसार भगवान श्रीकृष्ण प्रलम्बासुरको बुई चढे तर प्रलम्बासुरले आफ्नो राक्षसी रूप लिएर आकाशमा उड्यो यो देखेर सबै आत्तिए तर भगवान श्री कृष्णले प्रलम्बासुरको घाँटी चेपेर स्वाँस रोकिदिए केही छिन पछि प्रलम्ब निष्प्राण भएर जमीनमा खस्यो। यसै गरी केशी नामको अर्को दानवलाई पनि कृष्णले खेल खेलमै मारेका थिए।
कालीनाग मर्दन
एक दिन भगवान श्रीकृष्ण लगाएत सम्पूर्ण गोप बालक यमुना नदीको किनारामा भकुण्डो खेलीरहेका थिए अचानक भकुण्डो हुत्तिएर यमुनाको एक तलाउमा खस्यो। त्यो तलाउमा कालियनाग नाम गरेको भयंकर बिषालु सर्प थियो सर्प यती बिषालु थियो कि यदी तलाउमाथी कुनै पंक्षी पनि उडेर गयो भने बिषका प्रभावले तुरुन्तै मरेर जमीनमा खस्थ्यो। भकुण्डो पानीमा गए पछि सबै गोप बालकहरूले प्यास लागेको कुरा भगवान श्रीकृष्ण सँग बिन्ती गरे। यो सुनेर भगवान श्रीकृष्णले भकुण्डो पनि ल्याउने र पानी पनि पिएर आउन तलाउमा जाने सल्लाह दिए गोपबालकहरूले तलाउमा बिषालु नाग भएको र त्यहाँ जान नहुने कुरा व्यक्त गरे। तब कृष्ण नागको शेखी हरण गर्ने चाहनाले तलाउको नजीकैको रुखमा चढेर ठूलो आवाज गर्न थाले।यो देखेर कालियनाग तलाउ बाहिर आएर कृष्णलाई पुरै शरीर बेरेर डस्न थाल्यो। यो देखेर सबै ब्रजवासीहरू आतिए त्यो दिन कृष्ण बलरामलाई छोडेर एक्लै गएका थिए। कृष्णलाई नागले डसेको कुरा थाहा पाएर नन्द बलराम लगायत सबै ब्रजवासीहरू यमुनामा गए। त्यहाँ भगवान श्रीकृष्णलाई नागले बेरेको देखेर सबै रुन थाले। यो देखेर कृष्णले फुर्ती देखाएर नागको टाउकोमा चढेर नाँच्न थाले। नागले अत्यन्त पिडाका कारण मुखबाट रगत छाद्न थाल्यो। नागका पत्नीहरू आएर भगवान श्रीकृष्णसँग नागको ज्यान बचाउनको लागि प्रार्थना गर्न थाले। यो देखेर भगवान श्रीकृष्णले नागलाई स्त्री द्वारा प्राण बचाइएको उपाधी दिदै अब देखि घमण्ड नगर्ने वाचा गराएर तलाउ छोड्न लगाए।
मथुरा गमन
कंशका धेरै जसो योद्धाहरूलाई कृष्णले गोकुलमा नै मारेर सिध्याएका कारण कंशले वसुदेव र देवकीलाई फेरी थुनामा राख्न लगाएर अर्कुर नाम गरेका व्यक्तिलाई ब्रजबाट कृष्ण र बलरामलाई ल्याएर आउने आज्ञा दियो। पुरै कृष्ण चरित्रमा यो कथा निकै मार्मिक छ। यो कथा पढ्दा आँखाबाट आँसु झर्छ। जब श्रीकृष्ण र बलरामलाई गोकुलबाट विधाई गरिन्छ। त्यसबेला ब्रजवासीहरूले गरेको रोधनलाई पढ्दा कठोर हृदय भएको व्याक्तिको पनि आँखाबाट आँशु खस्छ। श्रीकृष्ण मथुरा गएको धेरै दिन सम्म ब्रजका मान्छे त के गाईहरूले पनि घाँस नखाएर आँखाबाट आँशु वर्षाई रहेको कुरा कृष्ण चरित्रमा लेखिएको छ।
विभिन्न नामहरू
कृष्णले कंशलाई मारेर मथुरा कब्जा गरेपछि कंश का अनन्य मित्र मगधराज जरासन्ध ले कंश हत्या को बदला लिन मथुरामाथि अठार पटकसम्म हमला गरे। अन्तिम पटकको हमलाको प्रतिरोध नगरी कृष्णले मथुरा छाडिदिए। त्यसपछि कृष्णको नाम ‘रणछोडदास’ रहन गयो।
ईश्वरूपमा पहिचान
महाभारत र भागवतको विवरण अनुसार श्रीकृष्णलाई सर्वप्रथम ईश्वरूपमा पहिचान गर्ने एक दृष्टिविहीन गोठालो साथी थियो । यशोदालाई पटक पटक त्यो रुप देखाउंदा पनि उनले बुझ्नै सकिनन् । गोपिनीहरूले उनको प्रेमी रूपलाई नै प्रधान मानेका थिए । उद्धव, भीष्म, विदुरले उनको अवतार रुपम जानेका थिए । भीष्मले यसैका लागि विष्णुसहस्रनाम रचना गरे । दुर्योधन र अर्जुन दुवैले श्रीकृषण्को विराट रुप वा विश्वरुप देखेका थिए तर दुर्योधनले त्यसलाई नौटंकी ठान्यो भने अर्जुनले त्यस रूपको दर्शन पछि ईश्वर भन्ने कुरा थाहा पाइ श्रीकृष्णको आज्ञा पालन गरे ।
गृहस्थ जीवन
मथुरा छोडेर भगवान श्रीकृष्णले सबै याद्वपहरू साथमा लिएर द्वारकापुरीमा आफ्नो नयाँ जिवनको सुरुवात गरेका थिए । उनले द्वारकापुरीमा नै एक सामान्या मानिस झैं गृहस्थ जिवन बिताएका थिए । द्वारकापुरीमा पनि भगवान कृष्णलाई धेरै शत्रुहरूको सामना गर्नु परेको थियो । उनले आफ्ना दाजु बलरामसँग सान्धीपिनी नामका ऋषीको आश्रममा गएर धनुर्वेद सिकेका थिए । सान्धीपिनीले आफ्ना मरेका छोराको ज्यान गुरु दक्षिणा मागेकाले भगवान कृष्ण र बलरामले यमलोक गएर गुरुका मरेका छोरा फिर्ता ल्याएका थिए । धनुर्वेद पढेर घर फर्केपछी श्रीकृष्णले विभिन्न सयंवरहरू जितेर रुक्मिणी लगायतका आठवटा रानीलाई विवाह गरेका थिए भने भौमासुरले थुनेर राखेका १६००० राजकुमारीहरूलाई भौमासुरलाई मारेर जेलबाट मुक्त गरेका थिए । भौमासुरको जेलमा बन्दी भएका ती १६ हजार राजकुमारीहरूले पनि कृष्णसँग विवाह गर्ने इछ्छा जताएकाले कृष्णले ती राजकुमारीहरूलाई पनि विवाह गरेका थिए । यसरी कृष्णका रानीहरूको संख्या १६००८ पुगेको थियो । प्रत्यक रानीहरूकालागी एकएकवटा महल बनाएका थिए भने प्रत्यक रानीहरूबाट ८-८ छोरा जन्मेका थिए । भनिन्छ कृष्णले गृहस्थ जिवनमा जतीवटा रानी थिए त्यतीवटा स्वरुप लगेर प्रत्यक रानीका घरमा बस्ने गर्थे । गृहस्थ रहँदा भगवान कृष्णले भीमसेनद्वारा आफ्नो शत्रु जरासन्धलाई पनि मराएका थिए भने सिसुपाल, शाल्व, दन्तवक्र, विदुरथ जस्ता पापीहरूको बध गरेका थिए भने बाणासुर जस्तो घमण्डीसँग युद्ध गरेर उसको सबै घमण्ड उतारेका थिए । यसै गरी उनले महाभारतको युद्धमा आफू नलड्ने भएर धर्मात्मा र सत्यवादी पाण्डवहरूका भाइ अर्जुनको सारथी बनेर विजय गराएका थिए र पापी कौरवहरूको पराजय गराएका थिए। कृष्णले आफ्नो गृहस्थ जिवनमा पनि पापीहरूको नास गर्ने र धार्मीकहरूको उद्धार गर्ने कामहरू गरेका थिए । उनले आफ्नो एक जना बचपनका साथी सुदामालाई गरिबको जिन्दगीमा बाँचेको देखेर धन धान्यले भरिपूर्ण गराएका थिए ।
गोपिकाहरूसँगको प्रेम
कृष्णको गोपिकाहरूसँगको प्रेम र सोह्र हजार रानीहरूको घटनालाई यदाकदा चर्चाको विषय बनाउने गरिन्छ । गोपी र राधासंगको प्रेम निश्चय पनि एक विशेष घटना हो र यदि कुनै प्रेमी र प्रेमिका त्यस उच्च कोटिमा पुगेका छन् जहां कृष्ण र गोपिकाहरु थिए भने त्यस प्रेमको वर्णन उनहरूले गर्न सक्छन् । श्रीकृष्ण एक पूर्ण पुरुष थिए । कृष्णमा सम्पूर्ण पुरुषोचित गुण थिए । उनी आकर्षक थिए । बहादुर थिए । निर्णायक थिए । असल रक्षक थिए । समाजका हित चिन्तक थिए । योग्य पुत्र थिए । योग्य मित्र थिए । गायक थिए, संगीतज्ञ थिए । नर्तक थिए । घिउदूधमा बालबालिकाहरूको पहिलो अधिकार स्थापना गरेर बाल अधिकारका प्रतिपादक बनेका थिए । त्यस्ता विशेष पुरुषलाई प्रेम गर्ने गोपिकाहरु धन्य भएका थिए । कृष्ण जस्ता अतिमानवको प्रेम पाएर गोपिकाहरु प्नि धन्य भएका थिए । भागवत ग्रन्थको रासलीलामा त्यो प्रेम ज्यादै सुन्दर र पवित्र रूपमा प्रकट गरिएको छ । राधाको चरित्र भागवतमा पाइंदैन । राधा र कृष्णको प्रेमको अभिव्यक्ति पनि ज्यादै सुन्दर छ । कंसको निम्तोमा मथुरा जाने समयमा प्रेमी कृष्णले प्रेमिका राधासंग अन्तिम विदाई लिएका छन् । यस विदाईमा भगवान श्रीकृष्णले आफ्नी प्रेमिका लागि बजाएको मुरली अब अरु कसैका लागि नबज्ने उपहार प्रदान गरेर बिदाई दिन्छन् । ब्रज छोडे पछि कृष्ण फेरि कुनै गोपिकासंग भेट गर्न कहिल्यै पनि फर्केनन् । यसबाट कृष्णको प्रेमको पवित्रता स्पष्ट हुन्छ । कृष्णको प्रेम त्यागमा रुपान्तरित हुने प्रेम थियो वासनामा रुपान्तरित हुने प्रेम थिएन । गोपिनीले कुन स्तरको प्रेम गरेका थिए भन्ने उदाहरण मीराको कृष्ण प्रेमले दिन्छ । जसले संसारमा एक कृष्ण बाहेक अरु कसैलाई पनि पुरुष देख्दैनथिन् । नरकासुर नाम गरेको एक पतित र व्याभिचारी राजा थियो । जसले कन्याहरूलाई जबरजस्ती पक्डिएर ल्याउंथ्यो र यौनसम्बन्ध राख्थ्यो । त्यसपछि जेलमा थुनेर राख्थ्यो । यसरी उसले हजारौं कन्याहरूलाई दूषित गरेका थियो । ती कन्याहरूलाई कसैले मुक्त गर्न सकेको थिएन । भगवान श्रीकृष्णले नरकासुर वध गरेर सबै कन्याहरूलाई मुक्त गरे अनि सबैका घरघर पठाई दिए । घर गएका कन्याहरु पुनः कृष्णकहां फर्के तथा भन्न थाले कि उनीहरूलाई न त समाजले स्वीकार गर्यो न परिवारले । अरु कसैले विवाह गर्न पनि मानेन । हजारौं नारीहरूको यो क्रन्दन सुनेर कृष्णले तत्काल निर्णय गरे– तिमीहरु आजदेखि कृष्ण पत्नी भयौ । र कृष्ण पत्नी भएपछि तिमीहरूको सम्मानको जिम्मेवारी पनि मेरो भयो । यसरी कृष्ण सोह्र हजार पत्नीका पति हुन पुगे ।
स्वर्गारोहण
महाभारतको युद्ध पश्चात भगवान कृष्णले द्वापरयगमा पापीहरूको अन्त्य गरेका थिए । जतीबेला यो पृथ्वीमा पापीहरू धेरै हुन्छन् त्यो बेला भगवान विष्णु कुनै न कुनै रूपमा अवतरीत भएर पापको नास गरेर धर्मको उद्धार गर्छन् भन्ने हिन्दू मान्यता रहेको छ । यसरी महाभारतको युद्ध गराएर भगवान कृष्णले संसारका पापीहरूको त नास गरे तर असङ्ख्यको रूपमा वृद्धी भएको याद्वपकुल देखेर यसलाई पनि नास गराउने उनको इछ्छा थियो । महाभारतको युद्धको कारण कृष्ण भएकोले कौरवहरूकी माता गान्धीरीले कृष्णलाई जसरी तिमीले कुरुकुलको नास गरायौ त्यसरी तिम्रो कुलको पनि आपसमा लडेर नास हवस् भनेर श्राप दिएकी थिइन् । गान्धीरीको श्रापको प्रभाव र भगवान कृष्णको इछ्छा भएकोले एक दिन याद्वपहरू जंगलमा सिकार गर्न गएको बेला दुर्वाशा ऋषिको आश्रममा पुगे । गान्धारीको श्राप र कृष्णको इछ्छाका कारण धर्मात्मा याद्वपहरूको बुद्धी भ्रष्ट भएको थियो । त्यसैले उनीहरूले दुर्वाशा ऋषीको तपस्याको परीक्षा लिने विचार गरे । याद्वपहरूले कृष्णका छोरा शाम्बलाई महिलाको पहिरन गराएर दुर्बाशा ऋषिको अगाडि गएर यी महिला गर्भवती छन् यीनको गर्भबाट छोरा जन्मन्छ की छोरी जन्मिन्छे भनेर सोधे । दुर्बाशा ऋषी स्वभावमा निकै रिशालु थिए । याद्वपहरूले यसरी आफ्नो अपमान गर्न खोजेका थाह पाएर उनले यी महिलाको गर्भबाट याद्वपकुलको नास गर्ने एक मुशल पैदा हुनेछ भने । नभन्दै शाम्बको कपडा खोलेर हेर्दा त्यसबाट एक फलामको मुशल निस्कियो । यो देखेर याद्वपहरू निकै डराएर घर फर्के । जंगलमा भएको सबै घटना सुनेपछी कृष्णले मुशल ढुङ्गामा घिसेर त्यसको धुलो समुन्द्रमा फाल्न लगाए । याद्वपहरूले मुशललाई ढुङ्गामा रगड्दै धुलो समुद्रमा बगाउँदै गरे । अन्तमा मुशलको एक टुक्रा धेरै सानो भएकोले त्यो टुक्रा रगड्न कठिन भयो । याद्वपहरूले त्यो टुक्रालाई त्यत्तिकै समुद्रमा बगाए । मुशलको धुलो समुद्रमा बगाएकोले समुद्रको किनारा भरी धारीलो पात भएको झार उम्रियो । मुशलको जुन टुक्रा त्यत्तिकै फालिएको थियो त्यो टुक्रा एक माछाले खायो । त्यो माछालाई माझीले समातेर जरा नामको व्याधालाई बेचे । व्याधाले माछा काटेर हेर्दा माछाको पेटमा फलामको टुक्रा देख्यो । त्यो फलामको टुक्रालाई जरा नामको त्यो व्याधाले बाण बनायो . यसै क्रममा एक दिन याद्वपहरूले समुद्रमा स्नान गर्ने र दान गर्ने निर्णय गरे । महिला र बालकहरूलाई घरैमा छोडेर सबै याद्वपहरू समुद्र किनारामा जम्मा भए । स्नान दान पछि याद्वपहरूमा कुनै अनर्थको कुरामा विवाद हुन थाल्यो । यसरी विवाद बढ्दै जाँदा उनीहरू आपसमा लड्न थाले । लड्दा लड्दै उनीहरूका हथियार भाँचिए । हथियार नभएकोले उनीहरूले मुशलको धुलोबाट उम्रेको झार उखेल्दै एक अर्कालाई हान्न थाले । जसलाई त्यो झारको चोट लाग्थ्यो त्यो तुरुन्त मर्थ्यो । यसरी आपसमा लडेर सबै याद्वपहरू सिद्धिए । याद्वपकुलको नास भयो भन्ने खुसीले कृष्ण एक पिपलको छायाँमा विश्राम गर्न थाले । जरा नामको व्याधाले टाढैबाट कृष्णको खुट्टा देख्यो । व्याधाले मृगको टाउको सोचेर कृष्णको खुट्टामा बाण प्रहार गर्यो । त्यो बाण माछाको पेटमा भेटिएको मुशलको टुक्राबाट बनेको हुनाले कृष्णको मृत्यु त्यसै बाणबाट भयो । यसरी भगवान कृष्णले मानव देह त्याग गरेर चतुर्बाहुको रुप धरेर बसे । जरा व्याधा मृग मर्यो भनेर खुसी हुँदै कृष्णको देह भएको ठाउँमा पुग्यो । त्यहाँ उसले भगवान कृष्णको खुट्टामा आफ्नो बाण लागेको देखेर कृष्णको खुट्टामा परेर माफी माग्यो । यो देखेर कृष्णले जरालाई “म राम हुँदा त बालीपुत्र अङ्गद थिइस् । मैले छल गरेर तेरो बाबुलाई मारेको थिएँ तै पनि तँहिले मलाई रावण सँगको युद्धमा धेरै सघाइस् । रावणको मृत्यु पश्चात मैले तँलाई इछ्छा अनुसारको वर माग्न भनेपछी तँहिले बाबाको बध गर्ने तिर भएर लडेको भनेर मलाई लोकले अपहेलना गर्ने छन् । त्यसैले रामको मृत्यु मेरो हातबाट हवस् भनेर वर मागेको थिइस् । त्यो बेला मैले तँलाई म कृष्ण भएको बेलामा मार्नु भनेको थिएँ । त्यै भएर तेरो बाणको प्रहारबाट म मरें यसमा तँलाई कुनै पाप लाग्दैन” भने यसका साथै कृष्ण बैकुण्ठ गएर बसे । महाभारतमा श्रीकृष्ण एक महापुरुषको रूपमा चित्रित गरिएको छ । जसमा उनको मृत्युलाई मा बडो सुन्दर रूपमा व्याख्या गरिएको छ । यदुवंशीहरु अहंकारी र श्रीकृष्णलाई नटेर्ने भए पछि उनी दुखी भएर जंगलमा पीपलको वृक्षमुनि सुस्ताइरहेका थिए । जहां एक व्याधाले उनलाई हरिण जस्तो ठानेर झक्किएर हत्या गरिदियो । महाभारतको कथा अनुसार गान्धारीको शाप तथा ऋषि दुर्वासा प्रति स्वयं कृष्णका सबभन्दा प्रिय पुरत्रहरूमध्ये एक साम्बले गरेको दुव्र्ययवहार स्वरुप यो घटना भएको हो । यसरी १२० वर्षको उमेरमा श्रीकृष्ण देहान्त भएको थियो ।
कृष्णको राजनीतिक र आर्थिक व्यक्तित्व
कृष्णको राजनीतिक र आर्थिक व्यक्तित्वको चर्चा प्रायः हुंदैन । कृष्ण पशुपालन अर्थ व्यवस्थाका पक्षपाती थिए र पशुपालनबाट देशको सम्पन्नता र रोजगारीको सुरक्षा ठान्दथे । प्राचीनकालको कृषि अर्थव्यवस्थाका लागि यो एक क्रान्तिकारी प्रयोग हो । त्यस बेला कृषिलाई नै सर्वाधिक महत्त्व दिइन्थ्यो । राजनीतिक व्यवस्थामा पनि कृष्णले नौलो प्रयोग गरेका थिए । अन्यायी राजाहरूलाई दण्ड दिनु उनको लक्ष्य थियो तर आफुले राज्य विस्तार उनले कहीं पनि गरेको देखिएन । अन्यायी शासकको वध गरेपछि त्यहांको जनतालाई न्याय र आफ्नो पुरानै परम्परा सधैं प्राप्त भइरहोस भन्नेमा उनले ध्यान दिएका थिए । यस्तो परम्पराबाट सम्बन्धित देशवासीको मनोबल उच्च रहन्छ र उनीहरूले आफुलाई सधैं स्वतन्त्र ठान्छन् । उनीहरूले अनावश्यक रूपमा कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप गरेको पाईंदैन । श्रीकृष्ण आफुले एक छुट्टै राज्यको स्थापना गरे । त्यसको राजनीतिक प्रणाली त्यसबेला संचालित कुनै पनि प्रणालीभन्दा फरक थियो । उनको शासन सामूहिक निर्णय प्रक्रियामा आधारित थियो जसको तात्कालिक निर्णमा दुवै जना दाजु भाइ भए पनि त्यसलाई प्राचीन ग्रन्थमा उल्लेख भएको कुनै पनि प्रणाली भन्दा त्यो फरक थियो । प्राचीनकालमा राजतन्त्र, गणतन्त्र, कुलसंघ, द्वैराज्य, वैराज्य, स्त्रीराज्य इत्यादि अनेक प्रणाली थिए । तर कृष्णले एक प्रकारको सामूहिक प्रणाली आरम्भ गरेका थिए । जसको शासन वृष्णिवंशका व्यक्तिहरूले गर्थे , जुन प्रजातान्त्रिक तरीकाले छानिएका हुन्थे । ग्रन्थहरूमा यसलाई वृष्णिवंश शासन प्रणाली भनिएको छ । जसले सामूहिक शासन प्रणाली भन्ने बुझाउंछ ।
नेपालमा कृष्ण भक्ति धारा
नेपालमा वसन्त शर्मा, विद्यारण्य केशरी, विद्यापति मिश्र, इन्दिरस कृष्ण भक्ति धाराका कवि हुन् । बालागुरु षडानन र स्वर्गद्वारी महाप्रभु ले पनि कृष्ण भक्ति सम्प्रदायमा योगदान गरेका छन् । स्वर्गद्वारी कृष्णको गोपालन प्रविधिका लागि प्रसिद्ध छ । त्यहांको गोवर्धन पर्वत मेला भारत र नेपालमा प्रसिद्ध छ । यसलाई गोवर्धन अर्थात गाई बढाउने भनिन्छ । कवि गौतमले कृष्ण भक्तिधारा सुरु गरेका थिए त्यो आजसम्म चलिरहेको छ । निम्बार्क, रामानुज, कृष्ण प्रणामी, राधेराधे, इत्यादि स्म्प्रदाय कृष्ण भक्तिधाराका नेपालमा प्रचलित छन् । वर्तमान समयमा कृष्ण भक्तिधारा विश्वव्यापी भएको छ । आचार्य खेमराज केशवशरणले कृष्णभक्तिधारालाई लोकप्रिय बनाउन भजन र सत्संग सञ्चालन गरिरहनु भएको छ । भागवत कथा मार्फत् भजनपूर्ण कृष्ण भक्ति कथा प्रवाहित गर्न पं. नारायण प्रसाद पोखरेलको पनि ठूलो योगदान छ । आज नेपालमा भागवत कथा महायज्ञ अन्य कथा महायज्ञभन्दा बढी लोकप्रिय बनेको छ । निम्बार्क सम्प्रदायबाट मोहन शरण देवाचार्यज्यूलाई नेपालका प्रथम जगद्गुरु घोषित गरिएको छ ।
भगवान कृष्णको जीवन
भगवान कृष्णको जीवनमा दम्भ, अहंकार, र अनिर्णयताको सानो गन्ध पनि कहीं पाईंदैन । पाण्डवहरू सधै. अनिर्णयताको शिकार हुने हुंदा प्रत्येक चरणमा उनीहरूलाई निर्णायक भइ सहयोग गरेको पाइन्छ । अर्जनले लक्ष्यवेध गरेपछि द्रौपदी स्वयंवरमा सारा क्षत्रियगणबाट अर्जुनको सुरक्षा तथा पांच पतिको पत्नीको रूपमा बस्नु पर्ने बाध्यता भए पछि कृष्णले पाण्डव, द्रौपदी र कुन्ती सबैलाई चित्त बmुभाइ दिएका थिए । कृष्णमा क्राइस्ट जस्तो सौजन्य, मोहम्मद जस्तो निश्चयात्मिकता र बुद्ध जस्तो तार्किकता एकै ठाउँमा पाइन्छ । कुनै कुराको निर्णय गर्नु र गराउनु भनेका जिम्मेवारी लिनु हो । त्यस कर्मको फलको भागी हुनु हो तर कृष्णले कर्म गर्ने तर कर्मफलसँग निःसंग रहने कर्मण्येवाधिकारस्ते…को नीति प्रत्येक पदमा अवलम्बन गरेका छन् । कृष्णलाई पूरै बुझ्न गीताको प्रत्येक श्लोकको अर्थ बुझे पुग्छ । अथवा कृष्णको जीवनको गहिरो अध्ययन गरे पछि गीता स्वतः. नै अवतरित हुन सक्छ । महाभारत युद्धलाई रोक्ने अन्तिमसम्म प्रयास गर्दा पनि जब दुर्योधन र उसका सहयोगीहरूले स्वीकार गरेनन् । श्रीकृष्णले युद्ध गर्नुपर्ने निर्णय पाण्डवहरूलाई सुनाए । युद्धको निर्णय गर्नु भनेको ज्यादै ठूलो निर्णय हो । प्रत्येक युद्धले एक युगको समाप्ति र अर्को युगको प्रारम्भ गर्छ । द्वितीय विश्वयुद्धमा अमेरिका सहयोगी हुने निर्णय गर्नु एक युगको प्रारम्भ थियो । युद्ध पछि नया शक्तिहरूको उदय हुन्छ । नया सभ्यता र संस्कृतिको विकास हुन्छ । महाभारतमा गीता सुनाएर भगवान श्रीकृष्णले एक नया युगको प्रारम्भ गरेका थिए । युद्ध प्रारम्भमा पाञ्चजन्य शंखको आवाज त्यही नयां युगको शंखध्वनिथियो। एक महान योद्धामात्र होइनन् शान्तिदूतको रूपमा पनि श्रीकृष्णको भूमिका अनुपम छ । अर्जुन, उद्धव आदि अनेक शिष्यहरूलाई उनले उपदेश दिएका छन् । त्यसैले उनी महान शिक्षक पनि हुन् । भगवान् श्रीकृष्णको बारेमा जति बोले पनि त्यो अपुग हुन्छ । किनभने उनी अनन्त छन् । उनका गुण अनन्त छन् । सन्त पुरुषहरूले भगवान् श्रीकृष्णलाई ज्ञानको अनन्त उचाइ र धर्मशास्त्रकारहरूले पूर्णावतार भन्दछन् ।
विकिपिडिया