पछिल्लो समय देशभर रुघाखोकी र टाइफाइडका बिरामीहरूको सङ्ख्या बढेको चिकित्सकहरूले बताएका छन्।

यो समयमा मौसमी बिमारीहरू नियमित देखिने भएपनि यसपटक भने बिरामीको सङ्ख्या पहिलेभन्दा बढेको उनीहरूको भनाइ छ।

स्वास्थ्य मन्त्रालयका अनुसार सहरी क्षेत्रमा यस्ता रोगका बिरामीहरु बढी देखिएका छन्।

तर महामारीको रूपमा फैलिएको डेङ्गीको नियन्त्रणमा केन्द्रित रहेको कारण अन्य रोगको रोकथामका लागि धेरै काम हुन नसकेको जनाइएको छ।

मौसमी बिमारी कहिले हुन्छ?

नेपालमा वर्षमा दुईपटक जाडो याम सकिएपछि चैत्र बैशाखतिर र बर्खा सकिने भदौतिर भाइरसका कारण हुने बिमारी बढ्ने गरेको छ।

यसपटक रूघाखोकी लगायत भाइरस र ब्याक्टेरीयाका कारण हुने सङ्क्रमणका बिरामीहरू ठूलो मात्रामा अस्पताल पुगेको शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका डा. शेरबहादुर पुन बताउँछन्।

मौसमी भाइरल ज्वरो र डेङ्गीका धेरै लक्षणहरू मिल्ने भएकाले रोग पहिचान गर्न सतर्क हुनुपर्ने उनी बताउँछन्।

डा. पुन भन्छन्: “बिरामीलाई रुघाखोकी लाग्ने, ज्वरो आउने र टाउको दुख्ने जस्ता लक्ष्ण देखिन्छन।”

“धेरैले डेङ्गीकै शङ्का गर्छन् तर हामीकहाँ आएका धेरै बिरामीलाई भाइरल ज्वरोले सताएको, टाइफाइड वा स्क्रब टाइफस लागेको भेटिएको छ।”

मौसमी ज्वरो आए के गर्ने?

डा. पुन भन्छन्: “यस्तो बिरामीको सङ्ख्या अघिल्ला वर्षहरूमा भन्दा बढेको छ। काठमाण्डू बाहिर पनि उत्तिकै बढेको छ।”

भाइरल इन्फेक्सन भयो भने स्वासप्रश्वासमा समस्या आउने डा. सृजना प्रधानाङ्ग बताउँछिन्।

डा. प्रधानाङ्ग भन्छिन्: “रोगसँग लड्न नसक्ने बिरामीहरूलाई भने झाडापखाला पनि लाग्न सक्छ।”

“समयमै निको भएन ‍भने निमोनियानै पनि हुनसक्छ। त्यसैले समयमै उपचार गराउन जरुरी छ।”

अरू कस्ता लक्षण देखा पर्छन्?

टाइफाइडका बिरामीलाई चाहिँ ज्वरो आउने चिकित्सकहरु बताउँछन्।

डा. प्रधानाङ्ग भन्छिन्: “टाउको दुख्ने, वाकवाकी लाग्ने र कसैकसैलाई कब्जियत वा पखाला पनि लाग्न सक्छ।”

सरकारी आँकडा अनुसार डेङ्गी युवाहरूमा बढी देखिएपनि मौसमी रुघाखोकी भने जेष्ठ नागरिक र बालबालिकामा बढी देखिएको छ।

बच्नका लागि मौसमी रुघाखोकी लागेका व्यक्तिसँग धेरै सम्पर्कमा नरहन चिकित्सहरूले सुझाव दिएका छन्।

बच्ने उपाय के छ?

चिकित्सकहरू हिँड्दा मास्क लगाएर हिँड्न र रुघाखोकीबाट हुने सङ्क्रमणबाट बच्न वर्षमा एकपटक खोप लगाउन सुझाव दिन्छन्।

“खोप लगाएपछि रुघाखोकीनै लाग्न नदिने भन्नै होइन, तर यसले पार्ने नकारात्मक असरलाई भने न्यूनीकरण गर्छ।”

यस्तै टाइफाइडबाट बच्न सफा खानेकुरा खाने र सरसफाइमा विशेष ध्यान दिनु जरुरी रहेको उनी बताउँछिन्।

बर्खायाममा पिउने पानीको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरू बताउँछन्। सफा उमालेको पानी खानु उचित हुने उनीहरूको भनाइ छ।

चिकित्सककहाँ कहिले जाने?

ज्वरो आएको केहि दिनसम्म निको नभए चिकित्सकसँग जँचाउन डा. पुन बताउँछन्।

उनी भन्छन्: “सामान्य भाइरल ज्वरो आउँदा तातो र झोल भएको खाना खाँदा फाइदा गर्छ। आराम पनि गर्नुपर्छ।”

“तर केही दिनमा पनि निको नभए तुरुन्तै चिकित्सककहाँ जानुपर्छ, नत्र निमोनिया हुने सम्भावना बढ्दै जान्छ।”

कतिपय बिरामी नयाँ किसिमका रोगको लक्षण लिएर पनि आएको डा. पुन बताउँछन्।

“निधान हुन नसकेका रोगका लक्षण लिएर आउने बिरामीको सङ्ख्या पनि बढ्दो छ।”

“यस्ता रोगबारे अनुसन्धान गर्न जरुरी छ तर हामीकहाँ हुन सकेको छैन,” उनले भने।

के सामान्य रुघाखोकी लागेको बेला गरिएको पीसीआर पोजेटिभ आउँछ ?

सामान्य रुघाखोकी लागेको बेला पीसीआर परीक्षण गराएमा रिर्पोट पोजेटिभ आउँछ भन्ने धारणा धेरै मानिसमा पाइन्छ ।

तर, रुघाखोकी लाग्दैमा गराएको पीसीआर परीक्षणको नतिजामा कोरोना पोजेटिभ आउने वा कोरोना भाइरसबाट संक्रमित भएको पुष्टी हुने हुँदैन ।

सामान्य रुघाखोकी लागेको बेला पीसीआर परीक्षण गराएमा रिर्पोट पोजेटिभ आउँछ भन्ने धारणा गलत हो । स्वाब परीक्षण वा पीसीआर परीक्षणले सक्रिय सङ्क्रमित पहिचान गर्न वा कुनै व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित छ कि छैन भनेर पहिचान गर्न प्रयोग गरिन्छ ।

वैज्ञानिकका अनुसार पिसिआर परीक्षण विशेष रूपमा कोभिड निम्त्याउने जिम्मेवार सार्स–कोभ–२ भाइरस पत्ता लगाउनका लागि डिजाइन गरिएको हो ।

पीसीआर परीक्षणले सार्स–कोभ २ भाइरसको आनुवंशिक सामग्री पत्ता लगाएर नतिजा दिने क्लिनिकल बायोकेमिस्ट्री एन्ड लेबोरेटरी मेडिसनका लागि एसोसिएसन माइक्रोबायोलोजी कमिटीका अध्यक्ष डा. रोब सोर्टेन बताउँछन् ।

भाइरसको आनुवंशिक सामग्री फरक हुने हुँदा फ्लू वा सामान्य रुघाखोकीको भाइरस भएमा व्यक्तिले पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आउने सम्भावना निकै कम वा असम्भवजस्तै हुन्छ ।

तर, पीसीआर परीक्षण गर्दा रिपोर्ट फल्स नेगेटिभ (सङ्क्रमण भए पनि नदेखिने) आउन सक्छ । परीक्षण नमुना दूषित भएमा, सही तापमानमा भण्डारण नगरेमा वा आरएनए पत्ता लगाउन प्रयोग गरिएको रसायनले ठीकसँग काम नगर्दा भने यसले फल्स नेगेटिभ नतिजा दिन सक्छ ।

कोरोना भाइरसको सङ्क्रमण पुष्टि गर्नका लागि एन्टिबडी परीक्षण पनि गरिन्छ । तर, एन्टिबडी परीक्षणले सक्रिय सङ्क्रमण नभई विगतमा भएको सङ्क्रमणविरुद्ध एन्टिबडी बनाएमा मात्र रिपोर्ट पोजिटिभ देखाउने हुन्छ ।

एन्टिबडी परीक्षणले कोभिडबाहेकका अन्य कोरोना भाइरस पनि टिप्न सक्छन् । रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) सक्रिय सङ्क्रमण पहिचान गर्न एन्टिबडी परीक्षण प्रयोग नगर्न सल्लाह दिन्छन् ।(एजेन्सी)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय