निर्वाचित प्रदेश सांसदको कार्यकाल सकिनै लाग्दा  प्रदेश २ ले नयाँ नाम र स्थायी राजधानी पाएको छ ।  प्रदेश सभामा सोमबार भएको मतदानबाट प्रदेशको नाम ‘मधेश प्रदेश’ र स्थायी राजधानी जनकपुरधाम कायम गर्ने प्रस्ताव पारित भएको हो ।

सोमबारको पहिलो बैठकमा स्थायी राजधानी जनकपुरधाम राख्ने प्रस्तावमाथि मतदान भएको थियो । दलहरुबीचको साझा प्रस्तावका रुपमा जनकपुरधाम (धनुषा जिल्लाको उत्तरमा ढल्केवर पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सीमाना र पश्चिममा मिथिला माध्यमिकी परिक्रमा भित्रको सम्पूर्ण भूभाग) प्रस्तावित गरिएको थियो । यसको प्रस्तावकहरु परमेश्वर साह, रवीन्द्र बैठा धोवी, उपेन्द्र प्रसाद कुशवाहा, शारदा देवी थापा र भरतप्रसाद साह हुन् । प्रदेश सभामा भने परमेश्वर साहले प्रस्ताव पेस गरेका थिए । समर्थकहरुमा चमेलीदेवी दास, सन्चमया मोक्तान, निराकुमारी साह, सावित्री देवी साह, जगतप्रसाद यादव, दिलिपकुमार साह, डिल्ली प्रसाद उप्रेती लगायत थिए ।

यो प्रस्तावमाथि मतदान हुँदा ९९ प्रदेश सभा सदस्यले मतदान गरेका थिए । जसमध्ये ७८ जनाले पक्षमा मत दिएका थिए । त्यस्तै, सोमबारकै दोस्रो बैठकमा प्रदेशको नाममाथि मतदान भएको थियो । पहिलो प्रस्तावको रुपमा ‘मधेश प्रदेश’माथि भएको मतदानमा सहभागी ९९ जनामध्ये ८० जनाले पक्षमा मत दिएका थिए ।

‘मधेश’को प्रस्तावकमा शैलेन्द्रकुमार यादव र भरतप्रसाद साह थिए। सो प्रस्तावको समर्थकमा बबिता कुमारी, रानी कुमारी तिवारी, सावित्री देवी साह, जगतप्रसाद यादव र दिलिपकुमार साह थिए । प्रस्तावक मध्येका यादवले प्रदेश सभामा आफूहरुको प्रस्ताव पेस गरेका थिए ।

 

राजधानीका लागि पनि जनकपुर र वीरगंजलाई केन्द्रमा राख्दै त्यसमा वरिपरिका विभिन्न क्षेत्र समेटेर ७ वटा नाम प्रस्ताव गरिएका थिए । त्यस्तै, प्रदेशको नामाकरणका लागि विभिन्न ६ वटा प्रस्ताव गरिएका थि ए । जसमा ५ वटा नाम प्रस्तावित थिए- मधेश, जानकी, मिथिला भोजपुरा, मध्य मधेश प्रदेश र जनक प्रदेश ।

फरक–फरक नाम प्रस्तावित भएपछि प्रदेश सभाले सहमति जुटाउन समिति गठन गरेको थियो । पुस १३ गतेको प्रदेश सभा बैठकले नाम र राजधानीको विषय टुंगो लगाउन सभामुख सरोजकुमार यादवको सभापतित्वमा १६ सदस्यीय समिति गठन गरेको थियो । प्रदेश सभाको त्यस दिनको बैठकले समिति गठन गर्ने प्रस्ताव पारित गरेको थियो ।

समिति सभापतिमा सभामुख यादव र उपसभापतिमा उपसभामुख उपमा कुमारी देव थिए । त्यस्तै, सदस्यहरुमा उपेन्द्रप्रसाद कुशवाहा, किशोरी साह (कमल), जगतप्रसाद यादव, दीलिपकुमार साह, परमेश्वर साह, विन्देश्वरप्रसाद यादव, शत्रुधन महतो, शारदादेवी थापा, शिवचन्द्र चौधरी, शैलेन्द्रकुमार यादव, सञ्जयकुमार यादव, सावित्रीदेवी साह, सुन्दरबहादुर विश्वकर्मा र सुरिताकुमारी साह थिए ।

समितिको प्रस्ताव सहितको प्रतिवेदन आइतबार (माघ २ गते)को प्रदेश सभा बैठकमा पेस भएको थियो । समितिले गोप्य मतदानबाट टुंग्याउन भनेर राजधानीका तीन वटा विकल्प र प्रदेशको नामका लागि चार वटा विकल्प प्रस्तुत गरेको थियो । उसले क्रमैसँग राखेका विकल्पमा मतदान गर्न सिफारिस गरेको थियो । तर, स्थायी राजधानी र नामका पहिलो प्रस्तावहरु नै दुई तिहाइ मतका साथ पारित भएका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link