प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई प्रतिनिधिसभामा प्रत्यक्ष प्रश्न गर्ने अवसर पाउँदा पनि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अधिकांश सांसद प्रश्न गर्न हच्किएका छन् ।
भदौ १० गते बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुँदैछ । सभामुख डोलप्रसाद अर्यालले प्रश्नोत्तरका लागि सांसदहरूलाई भदौ ५ गतेसम्म प्रश्न दर्ता गर्न समय दिएका थिए ।
संसदमा दलहरुको उपस्थितिका आधारमा प्रश्न सोध्ने संख्या निर्धारण गर्दा रास्वपाको भागमा ७ जना परेका थिए । तर, तोकिएको समय सीमाभित्र रास्वपाका तीन सांसदले मात्रै प्रधानमन्त्रीलाई सोध्ने प्रश्नसहित संसद् सचिवालयमा नाम टिपाएका छन् ।
संसद् सचिवालय श्रोतका अनुसार रास्वपा सांसदहरु अमरेशकुमार सिंह, समीक्षा बास्कोटा र कृष्णहरि बुढाथोकीले मात्र प्रश्न सोध्ने भएका छन् । रास्वपाका अधिकांश सांसद प्रधानमन्त्रीलाई प्रश्न गर्नबाट हच्किएको देखिन्छ । प्रधानमन्त्रीलाई सोध्ने प्रश्न टिपाएका सांसद् सिंहले सरकारको आलोचना गर्न थालेको धेरै भयो ।
यस्तै प्रश्न सोध्न नाम दर्ता गराएका बाँस्कोटा र बुढाथोकी दुवै संसदीय समिति सभापति छन् । बास्कोटा कानुन, न्याय तथा मानव अधिकार समिति र बुढाथोकी अर्थ समिति सभापति हुन् ।
प्रमुख प्रतिपक्षी कांग्रेसबाट प्रमुख सचेतक बासना थापा र गीता गुरुङ, एमालेबाट प्रमुख सचेतक ऐन महर र गणेशसिंह ठगुन्ना तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट वर्षमान पुन र प्रमेशकुमार हमालले प्रधानमन्त्री शाहलाई प्रश्न गर्नेछन् । यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई र राप्रपा प्रमुख सचेतक खुश्बु ओलीले प्रश्न सोध्ने तयारी गरेका छन् ।




