न्युजिल्यान्डले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई फेसबुक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने उद्देश्यसहित विधेयक ल्याउने तयारी गरेको छ । बिबिसीका अनुसार नयाँ प्रस्तावमा टिकटक, इन्स्टाग्राम, स्न्यापच्याट र फेसबुकलगायत सामाजिक सञ्जाल प्लेटफर्महरूले आफ्ना प्रयोगकर्ताको उमेर १६ वर्षभन्दा माथि रहेको सुनिश्चित गर्न पर्नेछ।

यो सुनिश्चित गरी आफ्नो दायित्व पूरा गर्न असफल हुने प्लेटफर्मलाई आम्दानीको १० प्रतिशतसम्म जरिवाना हुन सक्ने गरी कानुन ल्याउन लागेको हो । प्रधानमन्त्री क्रिस्टोफर लक्सनले सामाजिक सञ्जालले बालबालिकालाई हानिकारक सामग्री, लत लाग्ने प्रविधिको सम्पर्कमा पुर्‍याइरहेको बताएका छन् ।

सामाजिक सञ्जालका कारण बालबालिकाको पारिवारिक जीवन, मानसिक स्वास्थ्य, निद्रा र शिक्षामा असर परिरहेको उनले बताए । ‘वास्तविक संसारमा बालबालिकालाई सुरक्षित राख्न हामीसँग सुरक्षा व्यवस्था छन् । अब भर्चुअल संसारमा पनि त्यस्तै सुरक्षा आवश्यक छ,’ उनले भनेका छन् । यो विधेयक संसदबाट पारित गर्न सरकारले आवश्यक मत पाउँछ वा पाउँदैन भन्ने यकिन भने छैन ।

यसअघि अस्ट्रेलिया, बेलायत लगायत देशले पनि १६ वर्ष भन्दा मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध/कडाइ गर्न थालेका थिए ।न्युजिल्यान्ड सरकारले अन्य कुन-कुन ‘उच्च जोखिम’ भएका प्लेटफर्मलाई प्रतिबन्धको दायरामा ल्याइने हो भन्नेबारे भने स्पष्ट गरेको छैन ।

संसदमा पेस गरिने अनलाइन सेफ्टी विधेयकअन्तर्गत सामाजिक सञ्जाल कम्पनीहरूले प्रयोगकर्ताको उमेर १६ वर्षभन्दा बढी रहेको सुनिश्चित गर्न अनुहारबाट उमेर अनुमान गर्ने प्रविधि र डिजिटल पहिचान प्रमाणीकरणजस्ता विधि प्रयोग गर्नुपर्ने हुन्छ । प्रतिबन्ध उल्लंघन गरेमा बालबालिका, अभिभावक वा हेरचाहकर्तालाई कुनै जरिवाना प्रस्ताव गरिएको छैन।

तर, सामाजिक सञ्जाल कम्पनीलाई लाग्ने जरिवाना अस्ट्रेलियाको भन्दा निकै बढी हुन सक्ने बिबिसीले समाचारमा उल्लेख गरेको छ। अस्ट्रेलियामा अधिकतम ९ करोड ९० लाख अमेरिकी डलर सम्म जरिवाना हुने व्यवस्था छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link