एमसीसी सँगको सम्झौताको विषयलाई लिएर फेरि राजनीतिक रस्साकस्सी सुरु भएको छ । अमेरिकी अधिकारीहरुले फेब्रुअरी १ तारिख (माघ १८ गते)सम्म सम्झौता संसद्बाट पारित गराउन दबाब दिएका सत्तारुढ गठबन्धनकै नेताहरुले बताउँदै आएका छन् ।
शनिबार साँझ बसेको सत्तारुढ गठबन्धनको बैठकमा एमसीसी परियोजनाको विषयमा छलफल भएको थियो । उक्त बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले फेब्रुअरी १ तारिखसम्म जसरी पनि अनुमोदनको पक्रिया अगाडि बढाउन भनेर अमेरिकीहरुले दबाब दिन थालेको भनेर ‘ब्रिफिङ’ गरेका थिए ।
बैठकमा सहभागी नेताहरुका अनुसार आइतबार (माघ १६ गते) बस्ने प्रतिनिधि सभाको बैठकमै एमसीसी परियोजना पेस गर्ने देउवाको चाहना थियो । तर, शनिबार साँझ नै संघीय संसद् सचिवालयले सूचना टाँस गरी १० दिनका लागि संसद बैठक स्थगित गर्यो ।
देउवाले एमसीसी अनुमोदनको प्रक्रिया अगाडि बढाउन जोड दिइरहेका बेला संसद् वैठक स्थगित हुनुलाई सत्तारुढ गठबन्धनमा फाटो आएको संकेतका रुपमा पनि केहीले हेरेका छन् ।
सत्तारुढ गठबन्धनका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसी सम्झौता संशोधन नगरी पारित गराउन नहुने पक्षमा छन्। माओवादी केन्द्रबाट सभामुख बनेका अग्नि सापकोटाले एमसीसीका सम्बन्धमा दलीय अडानलाई बल पुग्नेगरी संसद् बैठक स्थगित गरेको कतिपयको टिप्पणी छ ।




