दीपेन्द्रसिंह ऐरीको अलराउन्डर प्रदर्शनमा घरेलु टोली नेपालले त्रिकोणात्मक टी २० सिरिज जितेको छ । सोमबार भएको फाइनल खेलमा पपुवा न्यू गिनीलाई ५० रनले पराजित गर्दै नेपालले घरेलु मैदानमा दोस्रोपटक सिरिज जितेको हो । नेपालले दिएको १६८ रनको सामान्य लक्ष्य पछ्याएको पपुवा न्यू गिनी १६.१ ओभरमा अलआउट हुँदै ११८ रनमा समेटियो ।
पपुवा न्यू गिनीका लागि सेसे बाउले अर्धशतक प्रहार गरे । बाउले ३८ बल खेल्दै १ चौका र ६ छक्काको मद्दतमा ५९ रन बनाए । तेस्रो ओभरमै करण केसीले लेगा सिएकालाई व्यक्तिगत ८ रनमा समेटे । त्यसपछि पाँचौ ओभरमा दीपेन्द्रले लगातार दुई बलमा दुई विकेट लिए । कप्तान असद भाला ८ र टोली उरा शून्यमा आउट हुँदा पपुवा न्यू गिनी २५–३ को अवस्थामा पुग्यो ।
त्यसपछि चार्ल्स अमिनी र सेस बाउले ३२ रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । तर, अमिनी दशौं ओभरमा १५ रनको व्यक्तिगत स्कोरमा आउट भए । अमिनीलाई दीपेन्द्रले सोमपाल कामीबाट क्याचआउट गराए ।
कप्तान सन्दीप लामिछानेले १३ औं ओभरमा लगातार दुई बलमा दुई विकेट लिए । सन्दीपले ६ रन बनाएका रिले हेकुरेलाई सोमपाल कामीबाट क्याचआउट गराए भने नोर्मन भानुअलाई शून्यमै आरिफ शेखबाट क्याचआउट गराए । १४ औं ओभरमा दीपेन्द्रले चाड सपरलाई १ रनमा आदिल अन्सारीबाट क्याचआउट गराए ।
पपुवा न्यू गिनीको इनिङ्स एक्लै सम्हालेका सेस बाउलाई करण केसीले १६ औं ओभरको दोस्रो बलमा अविनाश बोहराबाट क्याचआउट गराएपछि नेपाल जिततर्फ अघि बढ्यो । त्यही ओभरमा करणले ४ रन बनाएका अबुअ मोरेअलाई सन्दीप लामिछानेबाट क्याचआउट गराए ।
नेपालका लागि दीपेन्द्रले ४ ओभरमा १८ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । यस्तै, करण केसीले ३ ओभरमा २७ रन खर्चेर ३ तथा कप्तान सन्दीपले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनायो । नेपालका लागि दीपेन्द्रले ३८ बल खेल्दै ५ चौका मद्दतमा सर्वाधिक ५४ रन बनाए । यस्तै, करणले १२ बलमा ५ चौका र १ छक्का प्रहार गरेर अविजित ३३ रन बनाए ।
दीपेन्द्र र करणले सातौं विकेटका लागि अर्धशतकीय साझेदारी गरे । उनीहरुले अन्तिम चार ओभरमा ५४ रन जोडेका थिए । दीपेन्द्र नेपालबाट टी २० आईमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । दीपेन्द्रले लगातार तेस्रो अर्धशतक प्रहार गरेका हुन् । यसअघि पपुवा न्यू गिनीविरुद्ध ६६ र मलेसियाविरुद्ध १ सय १० रनको इनिङ्स खेलेका थिए ।
आसिफ शेखले २९, कुशल भुर्तेलले २५ र आदिल अन्सारीले १५ रन जोडे । रोहित पौडेल २ रनमा आउट हुँदा आरिफ शेख र दीलिप नाथ शून्यमा समेटिए । आक्रामक सुरुआत गरेको नेपालले पावरप्लेमा २ विकेट गुमाएर ४४ रन बनाएको थियो । तेस्रो नम्बरमा ब्याटिङमा आएका रोहितले भने ३ बलमा २ रन बनाएर आउट भए ।
त्यसपछि आसिफ र दीपेन्द्रले नेपालको इनिङ्स सम्हालेका थिए । तर, १२औं ओभरमा नेपालले लगातार तीन विकेट गुमाएपछि दबावमा आएको थियो । आसिफ १२औं ओभरको पहिलो बलमा आउट भए । उक्त ओभरको तेस्रो बलमा आरिफ शेख खाता नखोली आउट भए भने पाँचौ बलमा दीलिप नाथ पनि शून्यमै आउट भए ।
नेपालका तीनै खेलाडीलाई सेमो कमिअले आउट गरे । उनले एकै ओभरमा नेपालका तीन खेलाडीलाई आउट गर्दै मेडन राखे। १६औं ओभरको अन्तिम बलमा आदिल अन्सारी १५ रन बनाएर आउट भए। उनले १३ बल खेल्दै १ चौका र १ छक्का प्रहार गरे । पपुवा न्यू गिनीका लागि सेमो कमिअले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए। यस्तै, चाड सपर, कबुअ मोरेअ र रिले हेकुरेल समान एक विकेट लिए ।
नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो । लिगमा नेपालले पपुवा न्यू गिनीलाई १५ र ३७ रनले हराएको थियो । मलेसियालाई ६ विकेट र ८५ रनले हराएको थियो । दुई ओडिआई खेलको सिरिजमा भने पपुवा न्यू गिनीले क्लिनस्विप गरेको थियो ।




