बैसाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि सवा लाखको उम्मेदवारी परेको छ । आयोगका अनुसार महानगर, उपमहानगर र नगरपालिकाको प्रमुखमा २ हजार ९ सय ८७ र उपप्रमुखमा १ हजार ८ सय ५२ जनाको उम्मेदवारी परेको छ । गाउँपालिका अध्यक्षमा ३ हजार १ सय ८ र उपाध्यक्षमा २ हजार १ सय ८२ जनाले उम्मेदवारी दर्ता गराएको आयोगले जनाएको छ । वडाध्यक्षमा २८ हजार २ सय १४, महिला सदस्यमा १९ हजार ९ सय ३४, दलित महिला सदस्यमा १७ हजार ९ सय ९७ र वडा सदस्यमा ४१ हजार ८ सय ४२ जनाले उम्मेदवारी दिएका छन् । ‘यो तथ्यांक अन्तिम होइन, विवरण अद्यावधिक भइरहेको छ,’ आयोगका प्रवक्ता शालिग्राम पौडेलले भने, ‘मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको सूची प्रकाशन भएपछि मात्रै यकिन उम्मेदवारको विवरण थाहा हुन्छ ।’
गत स्थानीय निर्वाचनमा १ लाख ५१ हजार १ सय ९० जनाले उम्मेदवारी दिएका थिए । मनोनयनपत्र दर्ता कार्यक्रम उत्साहजनक भएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए । ‘यो निर्वाचनमा सबै दलले सहभागिता जनाएका छन्,’ उनले भने, ‘राजनीतिक दृष्टिकोणले यो निर्वाचन आमसहमतिबाट हुँदै छ भन्ने राम्रो सन्देश दिएको छ ।’
प्रमुख दल मात्रै नभई आयोगमा दर्ता नभएका दल पनि स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचन प्रक्रियामा सहभागी भएका छन् । काठमाडौं महानगरपालिकाको प्रमुखमा ५६ जनाको उम्मेदवारी परेकामा ३५ जना स्वतन्त्र छन् । त्यस्तै ललितपुर महानगर प्रमुखमा १४ जनाको उम्मेदवारी परेकामा ३ जना स्वतन्त्र छन् । भरतपुर महानगरको प्रमुखमा ३० जनाको उम्मेदवारी परेकामा १४ जना स्वतन्त्र छन् । पोखरामा २६ जनाको उम्मेदवारी परेकामा ९ जना स्वतन्त्र छन् । विराटनगर महानगरमा ११ जनाको उम्मेदवारी परेकामा २ जना मात्रै स्वतन्त्र छन् । आयोगमा दल दर्ता नगराएका नेत्रविक्रम चन्द नेतृत्वको पार्टीका उम्मेदवारले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् ।
दाङ, कपिलवस्तु, गुल्मी, कालीकोट, रोल्पालगायत जिल्लामा चन्दले उम्मेदवार उठाएका छन् । निर्वाचन आयोगमा दर्ता भएका १ सय ११ दलमध्ये निर्वाचन प्रयोजनका लागि ७९ दल दर्ता भएका छन् । सक्रिय सबैजसो दलले निर्वाचनमा सहभागिता जनाएको आयोगले जनाएको छ । काठमाडौं महानगरको प्रमुखमा २१ दलका उम्मेदवारले प्रमुखमा दाबी गरेका छन् ।




