भ्रष्टाचारको मुद्दा खेपिरहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डेलाई विशेष अदालतले सफाइ दिएको छ । न्यायाधीशत्रय श्रीकान्त पौडेल, रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले भ्रष्टाचार अनियमितता मुद्दामा कालिका कन्स्ट्रक्सनका सञ्चालकसमेत रहेका पाण्डेलाई आइतबार सफाइ दिने फैसला गरेको हो ।
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा ठेकेदार कम्पनी सञ्चालक पाण्डेसहित २१ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ मंसिरमा साढे आठ अर्ब बिगो दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
जसमा पाण्डेविरुद्ध दुई वर्ष कैदसहित २ अर्ब १३ करोडको बिगो दाबी गरिएको थियो । पाण्डे २०७५ माघमा चार करोड धरौटीमा रिहा भएका थिए ।
कालिका कन्स्ट्रक्सनले ६ अर्ब रुपैयाँमा ठेक्का पाएको सिक्टा सिँचाइको नहर परीक्षणकै क्रममा भत्किएपछि अख्तियारले अनुसन्धान थालेको थियो । कमसल काम गरेको पाइएपछि अख्तियारले विशेष अदालतमा पाण्डेसहित आयोजना प्रमुख र इन्जिनियरहरु गरेर २१ जनाविरुद्ध आरोपपत्र दायर गरेको थियो । विशेषले आइतबार २१ जनालाई नै सफाइ दिएको हो।




