नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछानेलाई इंगित गर्दै देश बिगार्ने भँडुवा भएको टिप्पणी गरेका छन् । शनिबार कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेता कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले स्वतन्त्रको नाममा राजनीति गर्नेहरुलाई देश बिगार्ने भँडुवा भएको आरोप लगाउँदै सतर्क रहन अनुरोध गरे ।
उनले विश्वका धेरै मुलुकमा पार्टी चाहिने तर नेपालमा चाहिँदैन भन्दै स्वतन्त्र भनिएकाहरुले देश विगार्न लागेको आरोप लगाए । उनले पार्टीबिना नीति, नेतृत्व, राष्ट्रिय विकास, राष्ट्रिय भावधारा, राष्ट्रिय विचार नै नहुने भएकाले स्वतन्त्रहरुले देश चलाउन नसक्ने दाबी गरे ।
उनले भने, ‘बेलायतमा पार्टी चाहिन्छ । फ्रान्समा चाहिन्छ, चीनमा चाहिन्छ । जापानमा चाहिन्छ, भारतमा चाहिन्छ । पाकिस्तानमा पार्टी चाहिन्छ। जहाँ पनि पार्टी चाहिन्छ देश चलाउनका लागि। यहाँ चाँही फेद न टुप्पोले स्वतन्त्र भनेर हुइयाँ चलाएका छन् ।’
अध्यक्ष ओलीले एकाध रुपमा अपवादको रुपमा आउनु एउटा कुरा भए पनि स्वतन्त्रले देशका जनताको भावना बुझ्न नसक्ने बताए । ‘एकाध रुपमा अपवादको रुपमा आउनु एउटा कुरा होला । स्वतन्त्रले मेचीको जनताको भावना, महाकालीका जनताको भावना र आवश्यकता, राष्ट्रिय विचार, राष्ट्रियभाव, राष्ट्रको विकासको अभियान चलाउन सक्छ?’, उनले भने ।
उनले रवि लामिछानेलाई लक्षित गर्दै एउटा पत्रकारका रुपमा नचाहिने नचाहिने काम गरेको आरोप लगाए। एउटा जमातले साथ दियो भन्दैमा लोकतन्त्र ल्याउनका लागि लडेका नेताहरुलाई अपमान गर्न नपाइने ओलीले बताए ।
उनले भने, ‘अब एउटा पत्रकार नचाहिने–नचाहिने काम गर्यो अनि, एउटा जमातले साथ दियो भनेर पत्रकार नेता भएर कुदेको छ । अनि लोकतन्त्र ल्याउनका लागि लडेका नेताहरुलाई अपमान गरेको छ। शरम लाग्नुपर्ने हो । यो देश बिगार्ने तरिका हो, देश बिगार्ने भँडुवाहरुको तरिका हो । यसबाट सतर्क हुनुपर्छ ।’




