केन्द्रीय राजधानीमा समस्याको रुपमा रहेको सुकुम्बासी बस्तीमा महानगरले डोजर लगाउन खोज्दा झडप भएको छ । थापाथलीको सुकुम्बासी बस्ती हटाउन जाने क्रममा सुकुम्बासीको आक्रमणमा परी काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेसहित ३६ प्रहरी घाइते भएका छन् । घाइतेमध्ये ३४ जनाको थापाथलीस्थित नर्भिक अस्पतालमा र २ जनाको वीर अस्पतालमा उपचार भइरहेको घाइतेका उपचारमा खटिएका नगर प्रहरी निरीक्षक सूर्य केसीले बताए।
उनका अनुसार धेरै घाइतेको टाउकोमा चोट छ । ‘घाइतेमध्ये धेरैको टाउकोमा चोट छ,’ उनले भने, ‘टाउकोमा सात टाँकासम्म लगाउनु परेको छ। टाउकोबाहेक छाती, ढाड र खुट्टामा चोट लागेका धेरै हुनुहुन्छ ।’ उनीहरूमध्ये तीन जनाको भने आइसियुमा उपचार भइरहेको महानगरले जनाएको छ ।
नगर प्रहरी शर्मिला बोगटीलाई शरीर बन्धक बनाई घाइते बनाएको पनि महानगर प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । यस घटनाको नेतृत्व गर्ने तथा संलग्न भएका व्यक्तिहरूको नाम समेत खुलाएर जिल्ला प्रहरी परिसर काठमाडौंमा पत्र पठाएको उनले बताए ।
मंसिर ४ गतेभित्र नदी किनारामा निर्माण भएका घरटहरा, त्यहाँ राखिएका निर्माण सामग्री तथा सवारी साधन हटाउन अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिले सार्वजनिक सूचना जारी गरेको थियो । स्थानीयले ढुंगा प्रहारसँगै टायर बालेर प्रदर्शन गरेका थिए ।




