नेपाली कांग्रेसले सत्ताको बागडोर गुमाएको छ । केन्द्रदेखि सातै प्रदेशमा अब कांग्रेसले सरकार बन्ने छैन । कांग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने मौखिक सहमति गरे पनि पहिलो कार्यकाल छाड्न नमान्दा सत्ता फुत्किएको हो ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदहरू मिलेर नयाँ प्रधानमन्त्री माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई बनाएका छन् ।
२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमत पुर्याएर सरकार बनाउन १३८ सांसद भए पुग्छ । दाहालको पक्षमा १६९ सांसदको समर्थन जुटेको छ ।
नयाँ गठबन्धन बनेर दाहाल प्रधानमन्त्री भएसँगै ८९ सांसद रहेको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भने प्रतिपक्षमा बस्नुपर्ने भएको छ । नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि प्रतिपक्षमा बस्ने सम्भावना छ ।
कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति आफैँले राख्न खोज्दा उसले सरकारको नेतृत्व गर्ने अवसर गुमाएको हो ।
आइतबार बालुवाटारमा भएको निर्णायक बैठकमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेसका सभापति शेरबहादुर देउवाले पहिलो कार्यकाल आफूले प्रधानमन्त्री छाड्न नसकिने अडान दोहोर्याएपछि उक्त बैठक छाडेर दाहाल बाहिरिएका थिए । लगत्तै उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका थि ए। केहीबेर छलफलपछि त्यहाँ अन्य दलहरूको समेत समर्थन दाहाललाई नयाँ प्रधानमन्त्री बनाउनेमा जुट्यो । त्यसपछि उनीहरू दाहाललाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति कार्यालय गए ।
कांग्रेस सभापति देउवा पुन: प्रधानमन्त्री हुन खोज्दा सत्ता गुमेको भन्दै कांग्रेसभित्र असन्तुष्टि देखा परेको छ । नेता रामचन्द्र पौडेलले गठबन्धन जोगाउन सभापति देउवा नै इमान्दार नभएको र प्रचण्डलाई धोका दिँदा यो अवस्था सिर्जना भएको प्रतिक्रिया दिए । दाहालले धोका दिएको भन्ने पक्षमा म छैन, दाहाललाई धोका भयो,’ पौडेलले भने, ‘हाम्रो हातमा अब केही छैन, सबै गुम्यो ।’
कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले गठबन्धन जोगाउन नसकेर नेतृत्वबाट भयंकर गल्ती भएको बताए ।
‘गठबन्धन जोगाउन जरूरी थियो, देशभरका आधा साथीहरूको भाग खोसेर अरू दललाई चुनावमा उम्मेदवार बन्न दिइएको थियो । त्यसबेला पनि केन्द्रीय समितिमा छलफल गर्न आवश्यक ठानिएको थिएन । माओवादीले सहमति पालना गर्दैनन् भन्ने त हामीलाई थाहा थियो नै तैपनि केन्द्रीय समितिले गठबन्धन गर्ने भनेपछि हामी चुप बस्यौं । चुनावपछि कांग्रेसले गठबन्धन जोगाउन अधिकतम प्रयास गर्नुपर्थ्यो, तर किन गरिएन?’
उ




