नेपाल टी-२० लिगमा स्पट फिक्सिङ भएको घटनामा पक्राउ परेका तीन जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलाशले पक्राउ परेका तीन जनालाई धरौटीमा छाड्न आदेश दिएको हो ।
नितेश गुप्ता, पूर्व खेलाडी महबुब आलम र जनकपुर रोयल्सबाट खेलेका आदिल अन्सारीलाई जनही तीन-तीन लाखमा छाड्न आदेश दिएको हो ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लिग सुरू भएदेखि नै शंकास्पद गतिविधि हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान गरिरहेको थियो । लिगमा स्पट फिक्सिङको उजुरी परेपछि केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले अनुसन्धान थालेको थियो ।
अनुसन्धानको क्रममा सिआइबीले १२ जनालाई प्रतिवादी बनाएर काठमाडौं सरकारी वकिल कार्यालयलाई बुझाएको थियो । कार्यालयले ५ जनाविरूद्धमात्रै मुद्दा दर्ता गरेको थियो । दुई जना फरार नै थिए । अन्यको ठेगाना नखुलेको भन्दै मुद्दा दर्ता गरिएको थिएन ।
प्रहरीले सेभेन थ्री स्पोर्टसका मालिक जतिन अलुवालिया, नितेश गुप्ता, पूर्वखेलाडी मेहबुब आलम, मोहम्मद आदिल आलम, अभिषेक सकलानी, राहुल शर्मा, एन्ड्रिउ म्याकर्थी, रवि माझी, समिर शेख, वीरेन्द्र साह, विकास ध्यानी र नवीन कँडेललाई प्रतिवादी बनाएको हो ।




