नेपालले आईसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीलाई चार विकेटले हराएको छ । नेपालको यो लगातार पाँचौं जित हो । नेपालले अघिल्लो साता घरेलु मैदान टियुमा स्कटल्यान्ड र नामिबियालाई चारै खेलमा हराउँदै सिरिज जितेको थियो ।
जितको लागि २ सय ४ रनको लक्ष्य पछ्याएको नेपालले ४५.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ६९ बलमा सर्वाधिक ५६ रन बनाए । नेपाललाई ओपनर आसिफ शेख र कुशलले पहिलो विकेटका लागि १४.५ ओभरमा ७६ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।
ओपनर आसिफ शेख ३९ बलमा ४४ रन बनाउँदै आउट भए । ज्ञानेन्द्र मल्ल १० बल खेल्दै चार रनमा बोल्ड आउट भए । कप्तान रोहित पौडेल २० रनमा आउट भए । आरिफ शेखले ५९ बलमा १ चौकासहित ३० रन बनाए ।
त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३ रन बनाएको थियो ।
युएई र पपुवा न्युगिनीसँग अन्तिम ८ खेलको सिरिज खेलिरहेको नेपालले ७ खेल जितेर टप ३ मा पर्दै विश्वकप छनोट खेल्ने लक्ष्य लिएको छ । ओडिआई मान्यता जोगाउन कम्तिमा पाँच खेल जित्नुपर्ने हुनेछ ।




