नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने बताएका छन् । उनले सरकारमा जाने र टिकाउने नाममा गरिने गठबन्धनबाट पार्टी दलदलमा फसेको भन्दै त्यस्तो गल्ती नदोहोर्याउने बताए ।
महामन्त्री थापाले नेपाली कांग्रेस धनकुटाले आयोजना गरेको जिल्ला सम्मेलनका सहभागीलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । सरकारमा जान अनि टिक्नको नाममा गठबन्धन गर्न नहुने भन्दै उनले आगामी भदौमा हुने नीति सम्मेलनमा पार्टीभित्रका कमजोरीको गम्भीर समीक्षा गर्ने उल्लेख गरे ।
अरु सबै मिलेर एउटै मोर्चा बनाएर चुनाव लड्छन् भने पनि अब हामी कहिल्यै कुनै दलसँग गठबन्धन गर्दैनौं,’ उनले भने, ‘मञ्चबाट तल, ढोकाबाट बाहिर आउनुपरे पनि परोस्, विचार ठुलो कुरा हो, मूल्य मान्यता ठूलो हो ।’ विगत्मा भएका कमजोरी र दलदलमा फसेको पार्टीलाई बाहिर निकाल्न जुट्नु पर्नेमा जोड दिए ।
महामन्त्री थापाले एमाले, माओवादी, रास्वपा कोही दुश्मन नभएको, बरु सहयात्री भएको बताए । उनले भने, ‘रोग, भोक र अशिक्षा दुश्मन हुन् तर अरु दलले गठबन्धन गरे पनि हामी जनताको छनोटको अधिकारलाई सुनिश्चित गर्नेछौं ।’ आफूहरू सहकार्यको राजनीति गर्ने भन्दै थापाले समाज परिवर्तनका मुद्दा र मुलुक निर्माणको नेतृत्व आफ्नो पार्टीले गर्ने दाबी गरे ।




