प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आवश्यकताको आधारमा बजेट विनियोजन भएको बताएका छन्
शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सरकारले लिएका नीतिगत प्राथमिकता, विभिन्न विषय क्षेत्रको विकासको लागि गर्नुपर्ने लगानी र आवश्यकताका आधारमा बजेट विनियोजन भएको बताएका हुन् । उनले मानव विकासका सुचकांकमा पछाडि परेका कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र मधेस प्रदेशलाई विशेष प्राथमिकतामा राखी स्रोत र साधनको न्यायपूर्ण विनियोजन गरिएको बताए ।
प्रधानमन्त्री प्रचण्डले राज्यको सम्पूर्ण संरचनालाई समावेशी बनाउँदै समावेशी लोकतन्त्रको सुदृढीकरणका लागि सरकार प्रयत्नशील रहेको स्पष्ट पारे ।




