प्रधानमन्त्री पुष्पकमल दाहाल इटली जाने भएका छन् । आज बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री दाहालको भ्रमण स्वीकृत गरेको छ ।
बैठकपछि सरकारकी प्रवक्ता रेखा शर्माले संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटलीमा आयोजना हुने ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’मा सहभागी हुन प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधि मण्डल जान लागेको जानकारी दिइन् ।
प्रतिनिधिमण्डलमा कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसाल समेत सहभागी हुने सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेकी शर्माले जानकारी दिइन् ।
प्रधानमन्त्री दाहाल साउन ६ गते बेलुका इटली प्रस्थान गर्ने र एक हप्तापछि फर्किने स्रोतले जनायो ।
बुधबारको मन्त्रिपरिषद बैठकले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट दिने निर्णय गरेको छ ।
शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको सन्चालक समिति सदस्यमा सोही अस्पतालका डाक्टर रवि मल्ललाई नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।




