प्रधानमन्त्री पुष्पकमल दाहालले यसै वर्षदेखि नेपाल बंगलादेश विदयुत व्यापार सुरू हुने बताएका छन्। नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले विदयुत व्यापार हुनेगरी नेपाल, भारत र बंगलादेशका सम्बन्धित निकायहरूबीच सम्झौता हस्ताक्षरको अन्तिम तयारी भइरहेको बताए।
‘वर्षायामभित्र नेपाल–बंगलादेश विद्युत व्यापार सुरू हुने गरी नेपाल, भारत र बंगलादेशका सम्बन्धित निकायहरूबीच सम्झौता हस्ताक्षरको अन्तिम तयारी भइरहेको छ,’उनले भने,’ अन्तरदेशीय प्रसारण संरचनाको निर्माणमा त्रिपक्षीय समझदारी जुटाई उल्लेख्य परिमाणमा नेपाल–बंगलादेश विद्युत व्यापारलाई भविष्यमा क्रमशः बढावा दिँदै लैजाने परिस्थिति बनेको छ ।’
प्रधानमन्त्रीले चीनसँग पनि चिलिमे–केरुङ २२० के.भी. प्रसारण लाइन निर्माणमार्फत् जोडिन सम्बन्धित अध्ययन कार्य पूरा गरी कार्यान्वयन तहमा प्रवेश गर्ने योजनाका साथ अघि बढेको दावीगरे।
उनले आगामी महिनामा हुने चीन भ्रमणमा उर्जा क्षेत्रका सम्बन्धमा दूरगामी र महत्वपूर्ण सम्झौता हुने विश्वास लिएको बताए।




