भारतको उत्तरपूर्वी राज्य मणिपुरमा शुक्रबार बन्दुकधारीहरूले कुकी समुदायका तीन जना सदस्यको हत्या गरेको प्रहरीले जनाएको छ। मणिपुरको राजधानी सहर इम्फालबाट करिब ३३ किलोमिटर उत्तरपूर्वमा रहेको उखरुल जिल्लाको थोवाई कुकी गाउँमा दिउँसो ती पुरुषहरूलाई गोली हानी हत्या गरिएको थियो।

‘गाउँको पूर्वमा रहेको पहाडबाट हतियारधारी आतंककारीहरूको समूह गाउँमा पसेर गाउँका गार्डहरूमाथि गोली चलाउन थाले। घटनामा गाउँका तीन जनाको मृत्यु भएको छ,’ उखरुलका एक वरिष्ठ प्रहरी अधिकारी निङ्शेम वासुमले बताएका छन्। मारिएका मानिसहरू स्वेच्छाले गाउँको सुरक्षा गरिरहेको बुझिएको छ।

हत्यापछि सरकारी सेना आक्रमणकारीलाई पक्रन गाउँमा पुगेका थिए। बहुसङ्ख्यक मेइती समूह र आदिवासी कुकी अल्पसङ्ख्यकबीच जातीय द्वन्द्वका कारण जारी हिंसामा हालसम्म राज्यमा १५० भन्दा बढीको ज्यान गएको छ। भीडले तोडफोड र आगजनी गरेको छ, जसमा सयौं घर र पसलहरू जलाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link