आजको खेल नेपाल र भारतका लागि निकै महत्वपूर्ण मानिएको छ। घरेलु टोली पाकिस्तानसँग पहिलो खेलमा पराजय बेहोरेको नेपाल भारतविरुद्ध जित निकाल्दै अघिल्लो चरणमा पुग्ने अभियानमा छ। वर्षाका कारण पहिलो खेलमा पाकिस्तानसँग अंक बाँडेको आठ पटकको विजेता भारतलाई पनि सोमबारको खेल जित्नैपर्ने दबाब छ। त्यसैले दुवै टोलीका लागि यो खेल ‘गर या मर’को स्थिति छ।
नेपाल र भारतको सिनियर टोली पहिलो पटक आमनेसामने हुन लागेका हुन्। अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको करिब तीन दशकपछि नेपालको सिनियर टोलीले पहिलो पटक भारतसँग खेल्ने अवसर पाएको हो। त्यसैले छिमेकी राष्ट्र भारतसँगको खेललाई यादगार बनाउने अभियानमा नेपाल छ। तर, सोमबार हुने नेपाल र भारतबीचको खेल वर्षाले बिथोल्न सक्ने मौसमविद्ले जनाएका छन्। मौसम विभागका अनुसार केन्डीस्थित पाल्लेकेल अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सोमबार ६० प्रतिशत वर्षाको सम्भावना रहेको छ। वर्षाका कारण खेल रद्द भएमा भारत सुपर फोरमा चरणमा पुग्नेछ। पाकिस्तान समूह विजेता बन्दा दुई अंकसहित भारत दोस्रो र एक अंकसहित नेपाल तेस्रो स्थानमा रहने छन्।
एसिया कपको सर्वाधिक सफल टोली भारतलाई पराजित गर्न नेपालले निकै मेहनत गर्नुपर्ने आवश्यकता छ। बलिङ, फिल्डिङ र ब्याटिङमा सुधार गर्न सकेमा मात्रै नेपालले भारतलाई दबाबमा राख्दै जित निकाल्न सक्छ। पाकिस्तानविरुद्धको खेलमा उत्कृष्ट सुरुवात गर्दै पाकिस्तानलाई दबाबमा राखे पनि फिल्डिङको कमजोरीका कारण पाकिस्तानले तीन सय ४२ रनको विशाल योगफल खडा गरेको थियो। जवाफी ब्याटिङ गरेको नेपालले घरेलु टोली पाकिस्तानलाई दुई सय ३८ रनले नतिजा सुम्पिएको हो। सुुरुवातदेखि नै कमजोर ब्याटिङ गरेको नेपालले २३.४ ओभरमा एक सय चार रन मात्रै बनाउन सकेको थियो। त्यसैले भारतविरुद्ध बलिङ, फिल्डिङ र ब्याटिङमा ध्यान दिनुपर्ने नेपाली टोलीका कप्तान रोहित पौडेलले बताएका छन् ।




