संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ । आफ्नै निवासमा हृदयघातपछि अस्पताल लैजाँदै गर्दा बाटोमै गएराति उनको निधन भएको हो ।
उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्याइए पनि नेम्वाङलाई चिकित्सकले मृत घोषणा गरेका हुन् । निधन भएको जानकारी पाएपश्चात प्रधानमन्त्री पुष्पकमल दाहाल एमाले अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे लगायतका नेताहरु अस्पताल पुगेका छन् ।
सांसद नेम्वाङको निधन पछि शीर्ष नेताहरु उनकाे पार्थिव शरिर राखिएकाे ठाउँमा पुगेका छन् । संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधन भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल अस्पताल पुगेका छन् ।
मंगलबार बिहान उनी टिचिङ अस्पताल पुगेका हुन् । उनीसँगै सभामुख देवराज घिमिरे र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि अस्पतालमा पुगेका छन् ।
प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका उपाध्यक्ष समेत रहेका नेम्वाङको राति १ बजे हृदयघातबाट निधन भएको हो । काठमाडौंको बालुवाटर बस्ने उनलाई हृदयघात भएपछि टिचिङ अस्पताल लगिएको थियो । इलाम क्षेत्र नं २ बाट निर्वाचित नेम्वाङ २००९ फागुन २८ गते इलाममा जन्मिएका थिए ।
२०४८ सालदेखि २०५२ सालसम्म राष्ट्रिय सभाका सांसद भए । २०५६ सालपछि उनी इलामबाटै निरन्तर पाँच पटक विजयी भएका थिए । २०६३ सालमा पहिलोपटक सभामुख बनेका नेम्वाङ अन्तरिम संसदमा समेत सभामुख बनेका थिए । पहिलो र दोस्रो संविधान सभाका अध्यक्ष र सभामुख बनेका नेम्वाङकै कार्यकालमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो ।
२०५१ सालमा न्याय, कानुन तथा संसदीय मन्त्री बनेका नेम्वाङ २०५६ सालमा लेखा समिति सभापति बनेका थिए।उनकै कार्यकालबाट संसदीय समितिमा पत्रकारलाई प्रवेश दिन सुरू भएको हो ।
स्नातक अध्ययनका क्रममा २०२८/२०२९ सालमा अनेरास्ववियुबाट इलाम बहुमुखी क्याम्पसको स्ववियु सभापति बनेका नेम्वाङ २०२८ सालदेखि राजनीतिमा निरन्तर सक्रिय थिए ।
२०३३ सालमा राजकाज मुद्दामा केन्द्रीय कारागारमा थुनामा रहँदा कम्युनिष्ट पार्टी कोओर्डिनेशन केन्द्र मालेमा संगठित भएका नेम्वाङ एमालेको केन्द्रीय न्यायिक समिति सदस्य हुँदै २०७८ मा एमालेको उपाध्यक्ष बनेका हुन् ।
पञ्चायती निरङ्कुशताविरूद्धको राजनीतिक आन्दोलनका क्रममा पटक-पटक सार्वजनिक सुरक्षा अन्तर्गत नजरबन्दमा परेका नेम्वाङ प्रधानमन्त्री तुलसी गिरीको पालामा चलाइएको राजकाज मुद्दामा ७ महिना जेल परेका थिए ।
वरिष्ठ अधिवक्ता समेत रहेका नेम्वाङले नेपाल ल क्याम्पसमा पढाएका थिए। प्रध्यापन, कानुन व्यवसाय र राजनीतिलाई एकसाथ अघि बढाएका नेम्वाङ नेपाल बार एसोसिएसनको पूर्व महासचिव समेत हुन् ।
पार्टीभित्र र राष्ट्रिय राजनीतिमा समेत समन्वयकारी भूमिका खेल्न सक्ने नेम्वाङ स्वच्छ र इमान्दार छवि भएका नेता थिए । शालीन स्वभावका नेम्वाङले आफूलाई भेट्न चाहानेहरूसँग सहज पहुँचमा रहन्थे ।
यसै बीच नेम्वाङको पार्थिव शरीर आज र भोलि पार्टी कार्यालयमा राखिने भएको छ । भोलि अपाराह्नपख मात्रै अन्तिम संस्कार हुने एमालेले जानकारी दिए ।




