प्रधानमन्त्री पुष्पकमल दाहाल दाहाल र चिनियाँ जनकंग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीबीच भेटवार्ता भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष लेजीबीच भेटपछि बेइजिङमा द्विपक्षीय भेटवार्ता भएको हो ।
प्रधानमन्त्री दाहालले आजै चीनका समकक्षी ली छ्याङसँग भेटवार्ता गर्ने कार्यक्रम छ । हाङझाओमा एसियाली खेलकुदको उद्घाटन समारोहमा सरिक भइ प्रधानमन्त्री दाहाल बेइजिङ पुगेका थिए । त्यसअघि हाङझाओमा राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता भएको थियो ।
बेइजिङमा नेपाल-चीन लगानी सम्मेलनलाई प्रधानमन्त्री दाहालले सम्बोधन गरेका थिए । हिजै बेइजिङस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका थिए । प्रधानमन्त्री दाहालले चोङकिङ नगरपालिकामा कृषी र औद्योगिक विकासको निरीक्षण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री दाहालको चीन भ्रमण टोलीमा स्वकीय सचिव गंगा दाहाल, परराष्ट्र मन्त्री एनपी साउद, खानेपानी मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी, योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठ लगायत सरकारी अधिकारी र उद्योग वाणिज्य महासंघका पदाधिकारीहरू छन् ।
नेपालसँग सीमा जोडिएको चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासाको भ्रमण गरी ३० सेप्टेम्बरमा प्रधानमन्त्री नेतृत्वको टोली स्वदेश फर्कनेछ ।




