अस्ट्रेलियाको डार्विनमा जारी टप एण्ड टी–२० शृङ्खलाअन्तर्गत नेपाल ‘ए’ले पहिलो जित निकालेको छ । आफ्नो तेस्रो खेलमा साेमबार नेपाल ‘ए’ले होबार्ट हरिकेन्स एकेडेमीलाई ३९ रनले हराएको हो ।
नेपाल ‘ए’ले दिएको १ सय ५५ रनको लक्ष्य पछ्याएको होबार्ट १८ ओभर ३ बलमा १ सय १५ रनमा अलआउट भयो । होबार्टका नितेश शमूएलले सबैभन्दा धेरै ३२ बलमा ३७ रन, टिम वार्डले १८ बलमा २३ रन र कप्तान निवेथान राधाकृष्णनले २१ बलमा २० रन बनाए ।
नेपालका नारायण जोशीले ३, पवन सर्फ र शहाब आलमले समान २ विकेट लिए । यस्तै विपिन खत्रीले १ विकेट लिए। त्यसअघि डार्विनको मरारा स्टेडियममा टस हारेर ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर १ सय ५४ रन बनायो।
नेपालका कुशल भुर्तेलले ३४ बलमा ३९, मयन यादवले २५ बलमा ३१, कप्तान अनिल साहले २१ बलमा २८ र लोकेश बमले १६ बलमा अविजित २० रन बनाए । होबार्टका रफ म्याकमिलनले ३, मार्कस बिनले २ तथा ब्र्याडली होप र निवेधना राधाकृष्णनले समान १ विकेट लिए ।
यस शृङ्खलामा नेपाल ‘ए’ले आफ्नो पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ८ विकेटले र बंगलादेश हाइ परफरमेन्स (एचपी)सँग ९ विकेटले पराजित भएको थियो। यो शृङ्खलामा होबार्ट पनि अहिलेसम्म जितविहीन छ । पहिलो खेलमा भिक्टोरियासँग पराजित भएको थियो भने दोस्रो खेलमा बंगलादेशको टोलीसँग पराजित भएको थियो।
अब नेपाल ‘ए’ले पर्सि भदौ १० गते एसीटी कमेट्स, ११ गते किङ्समेन र १३ गते अगस्ट भिक्टोरिया सीए–११ को सामना गर्नेछ। प्रतियोगितामा ११ टोली सहभागी छन् ।




