नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समुहबाट बागमती प्रदेशको सभापतिमा जगदिश्वर नरसिंह केसीले उम्मेदवारी दिने भएका छन् ।  सभापतिको उम्मेदवार केसी नुवाकोटका निवर्तमान सभापति हुन् भने नेता अर्जुन नरसिंह केसीका भाइ हुन् ।

त्यस्तै महामन्त्रीमा कञ्चन वादे श्रेष्ठ र रामचन्द्र अर्याल ‘माइकल’ले उम्मेदवारी दिने भएका छन् । एक उपसभापति र सहमहामन्त्रीको टुङ्गो लाग्न बाँकी छ ।

संस्थापनपक्षबाट बागमती प्रदेश सभापतिमा इन्द्र बानियाँले उम्मेदवारी दिने घोषणा गरेका छन् । नेता कृष्णप्रसाद सिटौलापक्षबाट सांसद भीमसेनदास प्रधानले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

सभापतिका उम्मेदवारी केसीले आफ्नो प्रतिवद्धता पनि जारी गरेका छन् ।
१. पार्टीको आन्तरिक लोकतन्त्रलाई सबल र सुदृढ बनाउने ।
२. पार्टी सङ्गठनलाई व्यवस्थित र पारदर्शी बनाउने ।
३.क्रियाशील सदस्यतालाई योगदानमा आधारित बनाई नियमित पुनरावलोकन र अद्यावधिक गर्ने, गराउने ।
४. पार्टीलाई संस्थागत निर्णय र सामूहिकताको आधारमा सञ्चालन गर्ने ।
५. पार्टीका प्रत्येक संरचनामा आवधिक तहको प्रशिक्षणको प्रबन्ध गर्ने ।
६. स्वास्थ्य, शिक्षा लगायत सामाजिक उत्तरदायित्वका विषयमा पार्टी संगठनलाई क्रियाशील गरी जनस्तरमा पार्टीको सम्बन्ध विकसित तुल्याउने ।
७. महिला, दलित, बालबालिका, युवा, आदिवासी जनजाती, विद्यार्थी, किसान, मजदुर लगायतका समुदायको उत्थानमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने ।
८. संघीय, प्रदेश र स्थानीय निर्वाचनहरूमा पार्टीका सबै संरचनाको प्रभावकारी परिचालन मार्फत सबै तहमा पार्टीको जीत सुनिश्चित गर्न पहलकदमी लिने ।
९. आफ्नो कार्यकालमा प्रदेश समितिको आफ्नै भवन निर्माण गरी पार्टीलाई भौतिक पूर्वाधार र प्रविधियुक्त बनाउने ।
१०. पार्टीको केन्द्र र जिल्लाहरूबीच निरन्तर समन्वय गरी पार्टी संगठनलाई गतिशील बनाउने ।

उल्लेखित कार्यक्रम र योजनासहित म र मेरो नेतृत्वको टिम नेपाली कांग्रेसको वागमती प्रदेश निर्वाचनमा तपाईं महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिज्यूहरू समक्ष उभिएका छौँ । हाम्रो टिमलाई मतदान गरी सुदृढ, सबल र गतिशील कांग्रेस निर्माणको अभियानमा योगदान गरिदिनुहुन अनुरोध गर्दछु ।
जय नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय