राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् ।  उनी कमल थापालाई २ सय मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।लिङ्देनले १८१७ मत ल्याए भने थापाले १६१७ मत ल्याए । काठमाडौंमा भएको राप्रपाको एकता महाधिवेशनमा यस अघिका अध्यक्ष थापा पराजित भएका छन् ।

यस्तै उपाध्यक्षमा विक्रम पाण्डे भारी मतका साथ विजयी भएका छन् । उनले २५२१ मत ल्याएर उपाध्यक्षमा विजयी भएका हुन् । १९४४ मत ल्याउँदै बुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधान पनि उपाध्यक्षमा निर्वाजित भएका छन् ।

महामन्त्रीमा धवलशम्शेर राणा विजयी भए । उनी २२२१ मत ल्याएर विजयी भएका छन् । त्यस्तै महामन्त्री (महिला) तर्फ रेखा थापा चर्चित उम्मेदवार थिइन् । उनी कुन्ती शाहीसँग ३६८ मतान्तरले पराजित भइन् । शाहीले २००८ मत ल्याउँदा थापाले १६४० मत ल्याएकी हुन् ।

 

यसै बीच अध्यक्षमा थापा पराजित भएसँगै महाधिवेशनमा निर्मल निवासको ‘नाङ्गो हस्तक्षेप’ भएको आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा अध्यक्षमा विजयी राजेन्द्र लिङ्देनलाई बधाई दिँदै थापाले चुनावमा निर्मल निवासको हस्तक्षेप भएको आरोप लगाएका हुन् ।

‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई तथा शुभकामना’, थापाले लेखेका छन्, ‘प्रतिकुल परिस्थितिमा समेत हामी माथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु । पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु ।’

थापाले राजसंस्था शीरमा कफन बाँधेर बोकेर हिँडेको पुरस्कार आफूले पाएको समेत बताएका छन् ।

‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शीरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो’, उनले भनेका छन्, ‘सो एजेण्डाको मूल संवाहकलाई राजनीतिक रूपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्।’

उनले आफूले राहत र उन्मुक्ति पाएको समेत बताएका छन् । पार्टीको महाधिवेशन पहिले उनले अब कहिल्यै पार्टी नफुटाउने बताउँदै आएका थिए ।

कसले कति मत ल्याए : सूची
अध्यक्ष
राजेन्द्र लिङ्देन– १८१७
कलम थापा– १६१७

उपाध्यक्ष
विक्रम पाण्डे– २५२१
वुद्धिमान तामाङ– १९४४
ध्रुवबहादुर प्रधान– १८१४
रोशन कार्की (महिला)– १५८९

महामन्त्री
धवलशम्शेर राणा २२२१
भुवन पाठक १७०५

कुन्ति शाही (महिला) २००८
रेखा थापा (महिला) १६४०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link