नेकपा माओवादी केन्द्रले राजनीतिक प्रतिवेदन र विधान मस्यौदाको छलफलका लागि २५ वटा समूह बनाएको छ । कमलादीस्थित प्रज्ञा भवनमा सोमबार आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन, पार्टी स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङबाट पार्टीको विधान मस्यौदा प्रस्तुत गरेका हुन् । बन्द सत्रमा दाहालले ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’शीर्षकमा वैचारिक तथा राजनीतिक दस्तावेज प्रस्तुत गरेका थिए ।

राजनीतिक दस्तावेज माथि मंगलबार दिनभर समूहगत छलफल हुनेछ । नेपाल प्रज्ञा प्रतिस्ठान, कमलादीमा बुधबार बिहान ११ बजेदेखि समूह प्रमुखहरुले समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुनेछ । बन्द सत्रका लागि कृष्णबहादुर महराको अध्यक्षतामा गिरीराजमणी पोखरेल, गणेश साह, परशुराम तामाङ, पूर्णाकुमारी सुबेदी, परशुराम रम्तेल र रुपा महर्जन सदस्य रहेको अध्यक्ष मण्डल गठन गरिएको छ ।

गुरुङले विधान मस्यौदामा पार्टीको केन्द्रीय कमिटी २९९ सदस्यीय रहने, पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष छ जना, महासचिव, उपमहासचिव दुईजना, सचिव तीन जना र कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था प्रस्ताव गरेका छन् । केन्द्रीय कमिटीमा महिलाको ३५ प्रतिशत, दलितको १५ प्रतिशत, मुश्लिमको ५ प्रतिशत प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ । सबै समूहबाट ४० वर्ष मुनिका युवाको २० प्रतिशत प्रतिनिधित्व अनिवार्य गरिएको छ । केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने प्रस्ताव गरिएको छ । पदाधिकारी र सबै तहका कमिटीहरुमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय