गृह मन्त्रालयले इजाजत (लाइसेन्स) नभएका हातहतियार जफत गर्न जिल्ला प्रशासन कार्यालय (सीडीयो) हरुलाई निर्देशन दिएको छ । गृह मन्त्रालयलेले सबै जिल्ला प्रशासनहरुलाई पत्र लेख्दै जिल्लाभित्र इजाजत नभएका हातहतियार जफत गर्न निर्देशन दिएको हो । जफत गरिएका त्यस्ता अवैध हातहतियारहरु फिर्ता नहुने समेत गृहले स्पष्ट पारेको छ ।
गृह मन्त्रालयले फागुन दोस्रो साता सीडीयो कार्यालयहरुलाई पत्र लेख्दै इजाजत भएका हतियारहरु समेत स्थानीय प्रहरीलाई बुझाउन लगाउन भनेको स्रोतले बताएको छ । स्थानीय तहको निर्वाचन नसकिएसम्म इजाजत भएपनि हतियारहरु घरमा राख्न नपाउने गृह मन्त्रालयले निर्णय गरेको हो । स्थानीय तह निर्वाचन आगामी बैशाख ३० गतेका लागि तोकिएको छ ।
गृहले इजाजत भएका हतियारहरु प्रहरीलाई बुझाउन लगाउने र निर्वाचन सकिएपछि सो हतियार सम्बन्धित व्यक्तिलाई फिर्ता गर्न सीडीयो कार्यालयहरुलाई भनेको छ । इजाजत भएका हतियार प्रभावकारी ढंगले भण्डारण गर्न समेत गृहले निर्देशन दिएको छ । आसन्न स्थानीय तह निर्वाचनको संभावित सुरक्षा जोखिमलाई कम गर्न गृह मन्त्रालयले इजाजत नभएका हतियार जफत गर्न मुलुकभरका सीडीओ कार्यालयहरुलाई निर्देशन दिएको हो ।




