युक्रेनको क्रामातोर्स्क रेलवे स्टेशनमा भएको रकेट आक्रमणमा कम्तीमा ५० जनाको मृत्यु भएको छ । पूर्वी युक्रेनको डोन्बास क्षेत्रबाट बालबालिकासहित सर्वसाधारणलाई सुरक्षित स्थानमा लैजानका लागि प्रयोग गरिँदै आएको रेलवे स्टेशनमा रुसले शुक्रबार रकेट आक्रमण गरेको हो ।

स्थानीय गभर्नरका अनुसार ३८ जनाको घनास्थलमै र १२ जनाको अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । गभर्नर पाभ्लो किरिलेन्कोका अनुसार मृत्यु हुनेमा पाँचजना बालबालिका पनि छन् । घटनामा ३०० जना घाइते भएका छन् । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रेलवे स्टेशनमा भएको आक्रमण रुसले गरेको अर्को युद्ध अपराध रहेको बताएका छन् ।

आफ्नो नियमित रात्रिकालीन सम्बोधनको क्रममा जेलेन्स्कीले अपराधका लागि भविष्यमा हुने सुनुवाइमा रुसलाई कानुनको दायरामा ल्याउने बताएका हुन् । उनले भनेका छन्, ‘बुचामा गरेको नरसंहार र अरु स्थानमा रुसले गरेको युद्ध अपराध जस्तै क्रामातोर्स्क रुसले गरेको मिसाइल आक्रमण पनि फौजदारी अदालतमा लगिने छ ।’ रुसलाई अत्याचारका लागि सजाय दिलाएरै छाड्ने वाचा जेलेन्स्कीले गरेका छन् ।

यसअघि जेलेन्स्कीले युक्रेन भ्रमणमा रहेकी युरोपियन कमिसनकी अध्यक्ष उर्सुला भोन डेर लियनसहितको टोलीसँग बुचा क्षेत्रको अनुगमन गरेका थिए । उर्सुलाले बुचामा सोच्नै नसकिने अपराध भएको बताएकी थिइन् । त्यसको केही घण्टा भित्रै रेलवे स्टेशनमा आक्रमण भएको हो । उर्सुलासहितको टोली रेलमार्ग भएर पोल्याण्डबाट युक्रेन पुगेको थियो ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा ‘भयानक–आततायी अत्याचार’ गरेको बताएका छन् । रेलवे स्टेशनमा भएको मिसाइल आक्रमणको सन्दर्भमा उनले रुसको निन्दा गरेका हुन् । सुरक्षित स्थानमा जान खोजिरहेका सर्वसाधारणलाई रुसले निशाना बनाएको उनले बताएका छन् । तर रुसले भने आक्रमण गरेको स्वीकार गरेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय