सत्तारुढ गठबन्धनले भागबण्डाका लागि लिएको निर्णय नेपाली कांग्रेस विराटनगर महानगर समितिले नमान्ने भएको छ । गठबन्धनको निर्णयप्रति रुष्ट बनेको समितिले विराटनगरमा कुनै पनि दलसँग तालमेल नगरिकन वैशाख ३० गतेको स्थानीय तह चुनावमा एक्लै भिड्ने निर्णय यसअघि नै गरिसकेको छ ।

निर्णयमात्रै हैन, आकांक्षीमध्येबाट मेयर र उपमेयरका सम्भावित उम्मेदवारको नाम पनि पार्टी केन्द्रमा सिफारिस गरिसकेको छ । गठबन्धनको भागबण्डामा उपमेयर पद जनता समाजवादी पार्टी (जसपा)ले पाएपछि महानगर समितिले विरोध गरेको हो ।

मेयरको उम्मेदवारमा महानगर समितिले डिला संग्रौला, अमृत अर्याल, नागेश कोइराला, भीम पराजुली, इन्दिरा कार्की, दीपक चापागार्ई र गोपाल रेग्मीको नाम सिफारिस गरिसकेको छ । उपमेयरको उम्मेदवार सिफारिस हुनेमा निरज कोइराला, झुमा गौतम, प्रमिला गच्छदार, प्रमिला थापा, पुनम सिंह, जस्मिन मण्डल, पंकज बर्मा, दुर्गा कोइराला, डा. सीता घिमिरे, गीता सिलवाल र राजु मास्के छन् । सिफारिसमा परेकामध्ये विराटनगरमा अहिले भीम मेयर र इन्दिरा उपमेयर छन् ।

कांग्रेसका विराटनगर सभापति दीपक चापागाईंले एक्लै चुनाव लड्ने अडान कायमै रहने र विराटनगरभित्र कुनै दलसँग चुनावी तालमेल नहुने स्पष्ट पारे। यसअघि अरु दलले गठबन्धन गर्दा कांग्रेस एक्लैले चुनाव जितेको र अहिले संगठन झन् मजवुत भएकाले तालमेलको आवश्यकता नरहेको उनको भनाइ छ । ‘गठबन्धनको निर्णय हामी कांग्रेसका कार्यकर्ताले मान्नुपर्छ भन्ने छैन,’ चापागाईं भन्छन्, ‘हामी अस्वीकार गर्छौँ र एक्लै चुनावमा जान्छौँ ।’

विराटनगरभित्र कांग्रेस एक्लै चुनाव जित्न सक्षम रहेकाले गठबन्धनभित्र के निर्णय भयो भन्ने कुरामा चासो नराखिएको उनको जिकिर छ । विराटनगरभित्र गठबन्धन नचाहिने घोषणा गरेरै यसअघि नै कांग्रेसबाट उम्मेदवारको नाम सिफारिस गरिएको चापागाईं बताउँछन् ।

‘विराटनगरको उपमेयर अर्कैलाई सुम्पिने निर्णय गठबन्धनले गरेको हो। पार्टीले हैन,’ उनी भन्छन्, ‘त्यो निर्णय कांग्रेसको केन्द्रीय कार्य समिति, सम्पादन समिति र संसदीय बोर्डमा आउन बाँकी छ । निर्णय पार्टीबाट पनि पास भयो भने चैँ विराटनगरका वडा समिति सभापतिहरुसँग छलफल गरेर नयाँ धारणा सार्वजनिक गरौँला ।’ पार्टीको नेतृत्वले तल्लो स्तरबाट के माग भइरहेको र कार्यकर्ताले किन विरोध गरिरहेका छन् भन्ने बुझ्न जरुरी रहेको उनले बता ए।

यसअघिको निर्वाचनमा एक्लै चुनाव लडेको कांग्रेस मेयर र उपमेयर दुवै पदमा विजयी भएको थियो । विराटनगरका १९ वडामध्ये ७ वटामा कांग्रेसका उम्मेदवारले जितेका थिए । २०७४ सालमा जसपा ६, नेकपा (एमाले) ३, माओवादी केन्द्र १ वटा वडामा विजयी भए । स्वतन्त्र उम्मेदवारले २ वटा वडाध्यक्ष जिते ।

अघिल्लो चुनावमा एमाले र तत्कालीन फोरम लोकतान्त्रिक तथा माओवादी र तत्कालीन संघीय समाजवादी फोरमबीच चुनावी तालमेल थि यो। तर एकल चुनाव लडेको कांग्रेसका भीम २३ हजार ३१ मत ल्याउँदै मेयरमा निर्वाचित भए । उनका प्रतिस्पर्धी एमाले-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार एमाले नेता विनोद ढकालले १७ हजार ३ सय २१ मत ल्याए । माओवादी र संघीय समाजवादी गठबन्धनका उम्मेदवार समाजवादीका नेता उमेशकुमार यादवले १४ हजार ९ सय ५८ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link