नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग गृहमन्त्री बालकृष्ण खाणले भेटघाट गरेका छन् ।एकीकृत समाजवादी पार्टी कार्यालय आलोकनगरमा भएको भेटमा गृहसचिव टेकनारायण पाण्डे र गृह मन्त्रालयका कानुन हेर्ने सहसचिव कोमल खत्री पनि सहभागी थिए ।

यस्तै अध्यक्ष नेपालसँगै पार्टीका नेता सोमप्रसाद पाण्डे पनि सहभागी थिए । उक्त भेटमा नागरिकता विधेयक चालू संसद्मा दलीय सहमतिमा अगाडि बढाउने विषयमा कुराकानी भएको छ ।

नागरिकता विधेयक सदनमा अगाडि बढाउने र दलीय सहमतिमा पास गर्ने प्रयासस्वरुप गृहमन्त्रीज्यूले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गर्नुभएको हो । कुराकानी सकारात्मक भएको छ, गृहसचिव पाण्डेले भने ।

सरकारले दलीय सहमतिमा नागरिकता विधेयक संसद्मा पेस गरेर पास गर्ने तयारी गरिरहेको छ।  त्यसकै लागि गृहमन्त्री खाणले सत्तारुढ दल एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपाललाई भेटेका हुन् ।

गृहमन्त्री खाणले नागरिकता विधेयकबारे पटक–पटक दलहरूसँग छलफल गर्दै आएका छन् । उनले यसअघि प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पनि नागरिकता विधेयकका विषयमा भेटेरै छलफल गरेका छन् ।

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेर प्रतिनिधि सभामा पेस गरेको छ ।

नागरिकतामा नेपाली पुरुषसँग विवाह गरी आउने विदेश महिलालाई दिने अंगिकृत नागरिकतालगायतमा दलहरूबीच सहमति जुट्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय