हार्दिक पाण्डेयको अलराउन्ड प्रदर्शनप्रेरित भारतले बिहीबार राति इङ्ल्यान्डविरुद्धको पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० रनको प्रभावशाली विजय हासिल गरेको छ ।  यससँगै भारतले तीन खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा १–० को अग्रता लिएको छ ।

साउथह्याम्पटनको द रोज बउल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १९८ रन बनाएको थियो । १९९ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले १९.३ ओभरमा सबै विकेट गुमाएर १४८ रनमात्र बनाउन सक्यो ।

भारतका लागि पाण्डेयले सबैभन्दा धेरै ५१ रन बनाए । उनले ३३ बलमा ६ चौका र एक छक्का प्रहार गरेका थिए । सूर्यकुमार यादवले ३९ रन बनाउँदा दीपक हुडाले ३३ रन जोडे । कप्तान रोहित शर्माले २४ रन बनाए । अक्सर पटेलले १७ र दिनेश कार्तिकले ११ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

इङ्ल्यान्डका मोइन अली र क्रिज जोर्डनले समान दुई विकेट लिए । रीसे टोप्ले, टेमल माइल्स र म्याट पार्किनसनले एक एक विकेट लिए ।१९९ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डका लागि मोइन अलीले सबैभन्दा धेरै ३६ रन बनाए । ह्यारी ब्रुकले २८ रन बनाउँदा क्रिज जोर्डनले अविजित २६ र डेबिड मालनले २१ रन बनाए ।

भारतका पाण्डेयले चार ओभरमा ३३ रन दिएर ४ विकेट लिए । उनलाई अश्रदीप सिंह र युजभेन्द्र चाहलले समान दुई विकेट लिएर साथ दिए । हर्षल पटेलले एक विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय