नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुरानो साथी भएकाले आफूलाई सहयोग गर्ने बताएका छन् । शनिबार बा राष्ट्रपतिका लागि उम्मेदवारी मनोनयन दर्तापछि पत्रकारसँगको कुराकानीमा ओली पुरानो साथी भएको बताए।
उनले आफूलाई सर्वसम्मत बनाउन एमालेले पनि सहयोग गर्ने विश्वास व्यक्त गरे । ‘एमाले अध्यक्ष पनि मसँग जेलमा बस्नुभएको हो धेरै समय । पुरानो साथी हो । उहाँले पनि यो राष्ट्रमा सबैको साझा पद बनाउनलाई योगदान गर्नुहोला भन्ने मैले विश्वास गरेको छु,’ उनले भने ।
यस्तै, उनले आफू राष्ट्रपति बनेसँगै संविधानको अक्षर र भावनालाई अक्षरस: पालना गर्ने बताए । पौडेलले राष्ट्रपति निर्वाचनको दिनसम्ममा आफू सर्वसम्मत निर्वाचित हुने कोसिस गर्ने बताए ।




