प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रपति निर्वाचनको प्रतिवेदन पेश गरेका छन् । शुक्रबार राष्ट्रपति कार्यालयमा पुगेर प्रमुख निर्वाचन आयुक्त थपलियाले राष्ट्रपति भण्डारीसमक्ष राष्ट्रपति निर्वाचनको प्रतिवेदन पेश गरेको हुन् ।

नेपालको संविधानको धारा ६२ तथा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम राष्ट्रपतिको निर्वाचनमा रामचन्द्र पौडेल नेपालको राष्ट्रपति पदमा निर्वाचित भएको व्यहोराको प्रतिवेदन आयोगले पेश गरेको हो ।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेस वरिष्ठ नेता पौडेललाई १० राजनीतिक दलको समर्थन थियो । पौडेलले ३३ हजार ८ सय २ मतभार प्राप्त गरे । उनका प्रतिस्पर्धी एमालेका उपाध्यक्ष सुवास नेम्बाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गरे ।

राष्ट्रपति चुनावमा संघीय संसद्तर्फ ३ सय १३ सांसद (२४ हजार ७ सय २७ मतभार) ले मतदान गरेका थिए । प्रदेशतर्फ ५ सय १८ (२४ हजार ८ सय ६४ मतभार) सांसदले मत दिएका थिए ।

२८ फागुनसम्म राष्ट्रपति भण्डारीको पदावधि रहेकाले नयाँ राष्ट्रपतिले पदभार ग्रहण गर्ने र निवर्तमान राष्ट्रपतिको बिदाइ हुने आचार्यले बताए। संविधानअनुसार राष्ट्रपतिलाई प्रधानन्यायाधीशले शपथ ग्रहण गराउनेछन् । अहिले प्रधानन्यायाधीश पद रिक्त भएकाले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले नै राष्ट्रपति पौडेललाई शपथ ग्रहण गराउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link