नेपाली कांग्रेसले सरकारमा पठाउने मन्निको नाम टुंगो लगाउन केन्द्रीय  कार्यसम्पादन समिति बैठक बोलाएको छ । मंगलबार बिहान ९ बजे सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा  बैठक बस्ने छ । बैठकमा पार्टीको तर्फबाट सरकारमा जाने मन्त्रिहरुको नाम टुंगो लाग्ने छ ।

यसअघि पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्रराहीमा बसेको  कार्यसम्पादन समितिले सातै प्रदेशको प्रतिनिधित्व हुने गरी समावेशी सिद्धान्तलाई ध्यान दिँदै मन्त्री छान्ने मापदण्ड बनाएको थियो ।

यही मापदण्डका आधारमा सरकारमा पठाउने मन्त्रीबारे मंगलबारको कार्यसम्पादन समिति बैठकमा छलफल हुनेछ । कांग्रेसले सत्ता गठबन्धनका बैठकमा कम्तिमा ८ मन्त्रालय दाबी गरेको छ । कांग्रेसले अर्थ, गृह, परराष्ट्र, रक्षालगायत मन्त्रालय आफूहरूले पाउनुपर्ने बताइरहेको छ । तर माओवादीले गृह आफैँसँग राख्न चाहेको छ ।

कांग्रेसबाट पूर्णबहादुर खड्का धनराज गुरुङ एनपी साउद प्रकाशशरण महत सिता गुरुङ मन्त्री बन्ने लगभग पक्का जस्तै छ । गगन थापा बद्री पाण्डे जीवन परियार ज्ञानेन्द्र बहादुर कार्की प्रदिप पौडेल प्रकाशमान सिंह डिकबहादुर लिम्बु तेजुलाल चौधरी लगायत मन्त्रीका लागि लागेका छन् ।

मंगलबार बस्ने कार्यसम्पादन समिति बैठकमा तनहुँ १, बारा २ र चितवन २ मा वैशाख १० मा हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्ने विषयमा पनि छलफल हुनेछ । चैत २० गते उम्मेदवारी दर्ता गर्नुपर्ने भएकोले त्यसअघि नै उम्मेदवार तय गरेर जानेबारे सभापति देउवाले पार्टीमा छलफल गर्न लागेका हुन् । उम्मेदवार हुन आकांक्षीबाट कांग्रेस क्षेत्रीय समितिहरूले आवेदन लिइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय