
उत्तरी छिमेकी चीन कोरोनाभाइरसको महामारीपछि लामो समय बन्द रहेको र अहिले आंशिक रूपमा चलिरहेको रसुवागढी नाका पूर्ण रूपमा चलाउन सहमत भएको छ । बुधबार चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासामा भएको सीमा, व्यापार र सहयोगसम्बन्धी नेपाल-चीन समन्वय संयन्त्रको पहिलो बैठकमा आगामी अप्रिल १ (चैत १८) देखि रसुवागढी/केरूङ नाका पूर्ण रूपमा सञ्चालन गर्ने सहमति भएको हो।
ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले दिएको जानकारीअनुसार सिन्धुपाल्चोकको तातोपानी नाका पनि मे १ देखि पूर्ण रूपमा सञ्चालन गर्ने सहमति भएको छ । चीनसँगका यी दुई नाका पूर्ण रूपमा नचल्दा चीनबाट नेपालमा हुने आयातका लागि तेस्रो देशको बाटो प्रयोग गर्नुपरेको थियो। जसले समय र मूल्य बढेर व्यवसायी र उपभोक्ता मारमा परेका थिए ।
बुधबार भएको वार्तामा नेपाली पक्षको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले गरेका थिए भने चिनियाँ पक्षको नेतृत्व तिब्बत सरकारका उपाध्यक्ष चेन योङ्गछीले गरेका थिए ।
नेपाली पक्षको अनुरोधमा नाकामा बहुउपयोगी प्रयोगशाला स्थापना गर्न पनि चिनियाँ पक्ष सहमत भएको छ । बैठकमा कृषि उत्पादन, मासु, औषधीजन्य जडिबुडीको व्यापारमा सहकार्य गर्ने विषयमा पनि छलफल भएको जनाइएको छ । नेपाली पक्षले काठमाडौं- ल्हासा सिधा उडान सकेसम्म चाँडो पुन: सञ्चालन गर्न पनि अनुरोध गरेको छ ।